सुनसरीको दुहबीका एक युवाले नेपाल क्रिकेट संघ (क्यान) को लोगो र राष्ट्रिय झन्डाअंकित इलेक्ट्रिक गितार बनाएका छन्।
नेपाली क्रिकेट खेल, खेलाडी तथा राष्ट्रियताको सम्मानस्वरूप दुहबीका ३० वर्षीय सफ्टवेयर इन्जिनियर निमेष खुलालले क्यानको लोगो (गैँडा) र नेपालको राष्ट्रिय झन्डाअंकित इलेक्ट्रिक गितार आफैँ डिजाइन गरी आफ्नै हातले निर्माण गरेका हुन्।
विज्ञानका विभिन्न नवप्रवर्तनात्मक कार्यसँगै संगीतप्रतिको लगावले उनलाई वाद्यवादनमा मात्र सीमित नराखी नेपालप्रतिको प्रेम र राष्ट्रिय पहिचान झल्काउने आविष्कारतर्फ डोर्याएको उनले बताएका छन्। यही सोचका साथ उनले क्यानको लोगो र राष्ट्रिय झन्डाअंकित गितार आफैँ डिजाइन गरी निर्माण गरेका हुन्।
उनका अनुसार उक्त गितारले साधारण इलेक्ट्रिक गितारकै ध्वनि गुणस्तर र स्ट्रिङ संरचना कायम राखेको छ। ३० वर्षीय युवा इन्जिनियर खुलाल भन्छन्, 'यो सिर्जनाले विज्ञान, इन्जिनियरिङ, कला र राष्ट्रिय पहिचानलाई एउटै माध्यममा जोड्ने मेरो विश्वासलाई अभिव्यक्त गरेको छ।'
सुनसरीको दुहबीमा जन्मिएका निमेष खुलाल नेपाली युवा वैज्ञानिक, अनुसन्धानकर्ता, आविष्कारक तथा प्रविधि नवप्रवर्तक हुन्। बाल्यकालदेखि नै विज्ञान र सिर्जनशीलताप्रति गहिरो रुचि राख्ने उनले विज्ञान, अन्तरिक्ष प्रविधि, रोबोटिक्स, एयरोस्पेस तथा इम्बेडेड प्रणालीका क्षेत्रमा योगदान दिँदै आएका छन्।
अन्तरिक्ष अनुसन्धानदेखि रोबोटिक्स, संगीतदेखि वैज्ञानिक आविष्कारसम्मको यात्रामा संलग्न निमेष हाल भारतको बेंगलुरुस्थित विमानसम्बन्धी कम्पनी ‘टी कनेक्टिभिटी इन्डिया प्रालि’ मा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छन्। विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा सक्रिय उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।
विद्यालय अध्ययनरत अवस्थामै उनले घरको पानी ट्यांकी भरिएपछि स्वतः मोटर बन्द हुने उपकरण निर्माण गरेका थिए। त्यसैगरी, उनले रिबन काट्ने रोबोट तथा सैन्य सुरक्षामा प्रयोग गर्न सकिने ड्रोनसमेत आफैँ डिजाइन गरी निर्माण गरेका थिए।