श्रीलंकालाई पराजित गर्दै किर्गिस्तान काभा महिला भलिबल च्याम्पियनसिपमा पाँचौँ स्थान हासिल गर्न सफल भएको छ। बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा सम्पन्न खेलमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्यो।
पहिलो सेट १५–२५ ले गुमाएको किर्गिस्तानले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेको हो। किर्गिस्तानले दोस्रो र तेस्रो सेट समान २५–२३ ले जित्दा चौथो सेटमा २५–१५ को सहज जित निकाल्यो।
जितेसँगै किर्गिस्तानले प्रतियोगिताको अन्त्य सुखद बनाएको छ। हारसँगै श्रीलंका भने छैटौँ स्थानमा रहेर प्रतियोगिता समापन गर्यो।
माल्दिभ्स सातौँ स्थानमा
काभाकै सातौँ स्थानका लागि भएको खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदै माल्दिभ्सले सान्त्वना जित हासिल गरेको छ। समूह ‘ए’मा रहेको माल्दिभ्स प्रतियोगितामा जितविहीन भएको थियो। तर, सातौँ स्थानका खेलमा माल्दिभ्स जित निकाल्न सफल भएको हो।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा पहिलो सेट २५–२७ ले गुमाएको माल्दिभ्सले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जितेको हो। माल्दिभ्सले दोस्रो सेट २५–११ ले जित्दै खेल बराबरी गर्यो। तेस्रो सेट २५–१७ र चौथो सेट २५–१२ ले जितेको हो।
यस जितसँगै आठ टोली सहभागी प्रतियोगितामा माल्दिभ्स सातौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्न सफल भयो। पराजित बंगलादेश भने आठौँ स्थानमा सीमित रह्यो।
प्रतियोगिताअन्तर्गत सेमिफाइनलका खेल बिहीबार हुनेछन्। पहिलो सेमिफाइनलमा भारत र काजाकिस्तानले दिउँसो २ः३० बजे प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले साँझ ५ बजे इरानसँग खेल्नेछ।