पर्सामा सदस्यता शुद्धीकरणको माग गर्दै एक घण्टा धर्ना

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

पर्सामा पत्रकारहरूको सदस्यता शुद्धीकरणको माग राख्दै नेपाल पत्रकार महासंघको कार्यालयअगाडि मंगलबारदेखि धर्ना सुरु गरिएको छ ।

सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले बिहान ११ बजेदेखि एक घण्टा धर्ना दिएको हो ।

नेपाल पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष अनुप तिवारीको संयोजकत्वमा गठित संघर्ष समितिले वर्तमान कार्यसमितिले विगतझैँ छानबिन गरी अयोग्य तथा विधानविपरीत रहेका व्यक्तिहरूलाई सदस्यताबाट हटाउन माग गरेको छ ।

त्यस्तै, विधानअनुसार सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्न तथा सदस्यता छानबिनका लागि आवश्यक पहल नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी पनि समितिले दिएको छ ।

समितिका संयोजक तिवारीले लोकतान्त्रिक व्यवस्था र नागरिकका लागि सर्वाधिक विश्वासिलो संस्थाका रूपमा रहेको नेपाल पत्रकार महासंघले आफ्नो मर्यादा जोगाउन विधि, विधान र पद्धतिअनुसार अघि बढ्नुपर्ने सुझाव दिए ।

उनका अनुसार २०७२ माघ १४ गते शाखाका पूर्वअध्यक्ष शत्रुधन नेपालको संयोजकत्वमा पूर्वअध्यक्षहरू सम्मिलित कार्यदलले तयार गरेको सातवटा मापदण्डमा नपर्ने सदस्यहरूलाई सदस्यताबाट हटाइएको थियो । विगतका दुई कार्यकालमा महासंघ पर्साले सञ्चालन गरेको शुद्धीकरण अभियानलाई निरन्तरता दिनुपर्ने मागसहित धर्ना दिइएको उनले बताए ।

यसअघि सदस्यता शुद्धीकरण संघर्ष समितिले सोमबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तथा मधेश प्रदेश कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । संयोजक तिवारीले जिल्ला कार्यसमितिपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी र मधेश प्रदेश अध्यक्ष श्याम बन्जारालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सुझावित समाचार