काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

सन् २०१९ र २०२२ को उपाधि विजेता नेपाललाई घरेलु कोर्टमै तेस्रोपटक उपाधि जित्ने अवसर

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

नेपालले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शुक्रबारदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्दै छ । नेपालले उद्घाटन खेलमै चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ । काभा च्याम्पियनसिपमा आयोजक नेपालसहित आठ राष्ट्र सहभागी छन् । यसपटकदेखि च्याम्पियनसिप जित्ने टोली सिधै एसिया कपमा छनोट हुनेछ । यसै प्रतियोगिता खेल्ने टोलीले पहिलोपटक वरीयतासमेत प्राप्त गर्नेछ ।

नेपाल प्रतियोगितामा दुईपटक च्याम्पियन भइसकेको छ । नेपालले सन् २०१९ र  २०२२ मा उपाधि जित्दा मुख्य प्रशिक्षक जगदीश भट्ट दिए । काभा च्याम्पियनसिपका लागि महिला राष्ट्रिय भलिबल टोलीले एक महिनाको तयारी गरेको थियो । नियमित कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, कविता भट्ट, साफिया पुन र पुनम चन्दजस्ता खेलाडी बिदेसिएपछि मुख्य प्रशिक्षक भट्टले च्याम्पियनसिपमा ६ नयाँ खेलाडीलाई मौका दिएका छन् । मुख्य प्रशिक्षक भट्टले राष्ट्रिय टोलीको जिम्मेवारी निरुता ठगुन्नालाई दिएका छन् ।

यसपटक वसन्ती साउदसँगै मीना सुनार, सलिना बुढामगर, एलिसा मानन्धर, ज्योत्सना महतो र सुनिता क्षेत्रीले पहिलोपटक टिममा स्थान बनाएका छन् । सिनियर खेलाडीमा कप्तान निरुतासहित उषा भण्डारी, सुमित्रा रेग्मी, सलिना श्रेष्ठ, प्रगति नाथ, कामना विष्ट, रिमा कुँवर र शान्तिकला तामाङ रहेका छन् ।

मुख्य प्रशिक्षक भट्टले युवा र सिनियर टोलीको तालमेल राम्रो भएको प्रतिक्रिया दिएका छन् । घरेलु कोर्टमा नेपालले उपाधि जित्नेमा प्रशिक्षक भट्ट यसपटक पनि विश्वस्त छन् । ‘युवा र पुराना खेलाडबिच राम्रो तालमेल भएको पाएको छु । टिम निकै राम्रो छ,’ उनले भने, ‘घरेलु कोर्टमा उपाधि जित्न तयार छौँ । टिमले उपाधि जित्नेमा विश्वस्त छु ।’

नयाँ कप्तान निरुताले पनि टिमको तयारी राम्रो भएको बताउँदै उपाधि जित्न खेल्ने बताइन् । उनले सुरुको भारतसँगको खेलमै केन्द्रित भएको पनि सुनाइन् । ‘हामी घरमै भएको प्रतियोगिता जित्न तयार छौँ, तर त्यसअघि पहिलो खेलमा केन्द्रित हुन चाहन्छौँ,’ निरुताले भनिन्, ‘सिनियर खेलाडी र युवा खेलाडीमा उच्च मनोबल पनि छ । त्यसैले आफ्नो लक्ष्यमा केन्द्रित हुनेछौँ ।’

भारतसँगको त्यो खेल
सन् २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलको स्वर्ण पदक भिडन्तमा महिला टोलीले भारतसँग प्रतिस्पर्धा गरेको थियो । महिला टोलीले अहिले पनि त्यो खेललाई स्मरणीय रूपमा लिने गर्छन् । शाहीको कप्तानीमा नेपालले भारतविरुद्ध फाइनलको पाँचौँ सेटसम्म चुनौती दिएको थियो । तर, भारतले नेपाललाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै स्वर्ण जित्यो । नेपाली खेलाडीले सानदार प्रदर्शन गर्दै पहिलो दुई सेटमा भारतलाई एकपक्षीय रूपमा हराएका थिए । तर, नेपाल लगातार तीन सेट गुमाएपछि नेपाल ऐतिहासिक रूपमा स्वर्ण पदक जित्नबाट वञ्चित भएको थियो । 

शुक्रबार भारतसँग खेल्नुअघि कप्तान निरुताले सोही दिनको स्मरण गरेर खेल्ने बताइन् । ‘हामीले पक्कै आज त्यो खेल कुर्नुपर्छ । हामी सुरुका दुई सेट जितेर पनि पराजित भएका थियौँ,’ निरुताले भनिन्, ‘यो भेटमा भने हामीले नतिजा ल्याउने गरी भारतविरुद्ध खेल्नेछौँ ।’

आठ राष्ट्र सहभागी
१५ जेठसम्म आयोजना हुने प्रतियोगितामा आठ राष्ट्र सहभागी भएका छन् । यसपटक एसिया कप खेल्न पाउने र वरयीतामा समेत यसले फरक पार्ने भएपछि इरान, किर्गिस्तान, भारत र काजकिस्तानसमेत सहभागी भएका छन् । नेपाल रहेको समूह ‘ए’मा भारत, किर्गिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’मा इरानसँगै श्रीलंका, बंगलादेश र काजकिस्तान छन् ।

नेपाली खेलाडीहरू
निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, कामना विष्ट, प्रगति नाथ, रिमा कुँवर, शान्तिकला तामाङ, मीना सुनार, सलिना बुढामगर, एलिसा मानन्धर, ज्योत्सना महतो, वसन्ती साउद, सुनिता क्षेत्री । 

सुझावित समाचार