पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार एक कार्यक्रमबिच पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताए । उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्त्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै यहाँ मिसन अस्पताल, मेडिकल कलेज र जिल्ला अस्पतालमार्फत सरकारी तथा निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको बताए। उनले पाल्पा जिल्लाभित्र मात्र नभई बाहिरी जिल्लाका बिरामीसमेत उपचारका लागि आउने केन्द्रका रूपमा विकास भएको धारणा राखे ।
मुख्यमन्त्री आचार्यले जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषयमा विगतदेखि नै छलफल भइरहेको बताउँदै संघीय सरकारले बनाएको मापदण्ड पूरा नभएका कारण प्रक्रिया केही जटिल बनेको उल्लेख गरे । उनले ५० शय्याको अस्पताल निर्माणका लागि आवश्यक मापदण्ड तथा नियमावली अगाडि बढाइएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा बहुवर्षीय आयोजनाका रूपमा कार्यक्रम अघि सारिने बताए । भवन निर्माणको कामलाई पनि तीव्र रूपमा अघि बढाइने उनको भनाइ थियो ।
उनले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत विशेष प्राथमिकता दिइने पनि उनले बताए ।
मुख्यमन्त्री आचार्यले अथक प्रयासबाट पाल्पाले लुम्बिनी प्रदेशलाई गर्व गर्ने अवसर दिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा अब्बल काम गरेर उदाहरण प्रस्तुत गरेकोमा सरोकारवालालाई धन्यवाद दिए । सफल हुनु मात्रै ठुलो कुरा नभई त्यसलाई दिगो बनाएर निरन्तरता दिनु अझ चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
पूर्णखोप तथा संस्थागत प्रसूति सेवाको उपलब्धिलाई दिगो बनाउन राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहने मुख्यमन्त्री आचार्यले बताए । उनले गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउन वर्थिङ सेन्टरलाई व्यवस्थित र आवश्यकताअनुसार मर्ज गर्दै सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।