धनकुटाको चौबिसे राजारानीमा भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको छ । प्रतियोगिताको मंगलबार भएको फाइनलमा बिर्तामोडले आयोजक रारा फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै दोस्रोपटक उपाधि हात पारेको हो । बिर्तामोडले सात लाख र उपविजेता आयोजक राराले तीन लाख रुपैयाँ पाएका छन् । उपाधि भिडन्तको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि विजेताको छिनोफानो टाइब्रेकरबाट भयो ।
दोस्रो हाफको ३३औँ मिनेटमा राराका मनिकुमार लामाले पेनाल्टीमा गोल गर्दै १–० को अग्रता दिलाए । खेलको अन्तिम इन्जुरी समयमा बिर्तामोडका प्रशान्त लक्षमले फ्रिकिकमा टोलीलाई १–१ को बराबरीमा पुर्याए । टाइब्रेकरमा बिर्तामोडका सञ्जय लिम्बू, दिवस उराव, प्रशान्त लक्षम, मौसम सुब्बा र विवेक पौडेलले गोल गरे । राराका किरण चेम्जोङ, मनिकुमार लामा, शिशिर लेखी र विशाल भण्डारीले मात्र गोल गरे । दीपेश गुरुङको प्रहार बिर्तामोडका गोलरक्षक अभिषेक बरालले रोकका थिए ।
उदीयमान खेलाडी आयोजकका लोकेन्द्र चेम्जोङ घोषित भए । झापाका अभिषेक उत्कृष्ट गोलरक्षक भए । सर्वाधिक चार गोल गरेका झापाका राजेश दाहाल उच्च गोलकर्ता बने । उत्कृष्टले जनही ११ हजार रुपैयाँ पाए ।