मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

पहुँचको बलमा कानुनले नदिएको सुविधा लिने सरकारी पदाधिकारीबाट खोसियो ६२२ गाडी

पहुँचका बलमा कानुनले नदिएको सवारी सुविधा उपयोग गरिरहेका सरकारी पदाधिकारीबाट सरकारले ६२२ वटा सवारीसाधन फिर्ता लिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विभिन्न मन्त्रालय, मन्त्रालयअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट ती सवारीसाधन फिर्ता लिइएको हो।

सहसचिव र त्यसभन्दा माथिका कर्मचारी वा पदाधिकारीले मात्र कानुनबमोजिम गाडी सुविधा पाउँछन्। तर, पहुँचका बलमा कर्मचारी तथा पदाधिकारीले कानुनले नदिने सुविधा उपयोग गर्दै आएकामा उक्त सुविधा खोसिएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी सवारीसाधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारीसाधन फिर्ता लिने प्रक्रिया जारी छ।

दुई अध्यादेश जारी गर्न सरकारको सिफारिस, राष्ट्रपति परामर्शमा

सरकारले दुईवटा अध्यादेश ल्याउने तयारी अघि बढाएको छ। संवैधानिक परिषद् र सहकारीसम्बन्धीका दुईवटा अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। अध्यादेश जारी गर्न सरकारले सोमबार निर्णय गरेर राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो। 

सरकारले सिफारिस गरेका अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा विचाराधीन छ। ‘राष्ट्रपति कार्यालयका सचिव महादेव पन्तका अनुसार अध्यादेशका सम्बन्धमा राष्ट्रपति पौडेल छलफलमै हुनुहुन्छ। कार्यालयका सचिव पन्थले नयाँ पत्रिकासँग भने, ‘सम्माननीयज्यू छलफल र परामर्शमै हुनुहुन्छ।’

३७ वटा अपराधमा पक्राउ परेर छुटेका सन्तोष रानाभाट फेरि समातिए

२०६१ सालदेखि काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रूपमा अपराधमा संलग्न रहँदै आएका एक व्यक्ति फेरि पनि समातिएका छन्। तनहुँको ऋषिंग गाउँपालिका घर भएका ३९ वर्षीय सन्तोष रानाभाटलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

काठमाडौंको कालोपुलस्थित एक घरमा सोमबार लाखौँको चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले बताए। उनको साथबाट प्रहरीले चोरीका गहना खुकुरी, फलामको रड पनि बरामद भएको छ। 

यसअघि उनी अभद्र व्यवहार मुद्दामा २२ पटक, चोरीमा १३ पटक, हातहतियार तथा खरखजना र लागुऔषध मुद्दामा १–१ पटक पक्राउ परेर छुटेका थिए। छुटे पनि पुनः अपराधमै उनी लाग्ने गरेको प्रहरीले जनाएको छ। 

असिम शाहले भने– राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ

संविधान संशोधनका विषयमा सरकार एकलौटी रूपमा अघि बढिरहेको भन्ने धारणा गलत रहेको कार्यदल संयोजक असिम शाहले बताएका छन्। उनले सबै राजनीतिक दल र सरोकारवालासँगको समन्वय तथा सहमतिबाट मात्रै संशोधन प्रक्रिया अघि बढाइने स्पष्ट पारे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार (वैशाख १४) आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा बोल्दै शाहले पछिल्लो समय फैलिएको भ्रमप्रति चिन्ता व्यक्त गरे। उनले संविधान संशोधनजस्तो संवेदनशील विषय राष्ट्रिय सहमतिको आधारमा मात्रै सम्भव हुने बताए।

शाहका अनुसार सरकारको सयदिने कार्ययोजनाअनुसार संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको हो। ‘संविधान संशोधन कुनै एक दल वा सरकारको इच्छाले होइन, व्यापक सहमतिबाट हुने प्रक्रिया हो,’ उनले भने, ‘हामीले तयार पार्ने बहसपत्रमा विस्तृत छलफल हुनेछ र सबैको सहमतिमा मात्र अन्तिम दस्ताबेज तयार हुनेछ।’

उनले आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गरे। साथै, आगामी १५–२० दिनभित्र सरोकारवालासँग व्यापक छलफल गरी प्रतिवेदन तयार पारेर प्रधानमन्त्रीलाई बुझाइने जानकारी दिए।

देउवापक्षीय आङ्देम्बे कांग्रेस दलका नेता

समानुपातिक सांसद भीष्मराज आङ्देम्बे प्रमुख प्रतिपक्ष दल कांग्रेसको सर्वसम्मत दलको नेता चयन भएका छन् । सांसदहरूले शपथ लिएको महिना दिनपछि कांग्रेसमा आङ्देम्बे सर्वसम्मत रूपमै दलको नेता चयन भएका हुन् । १४औँ महाधिवेशनमा उनी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनपछि पहिलोपटक कांग्रेसले सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । 

पार्टीका समूहका आ–आफ्ना चासोको उम्मेदवार देखिएपछि दलको नेता चयनमा विलम्ब भएको थियो । सभापति गगन थापाले रसुवाबाट निर्वाचित मोहन आचार्यलाई दलको नेता बनाउन चाहेका भए पनि उनको पक्षमा संसदीय अंकगणित अनुकूल नदेखिएपछि आङ्देम्बेले मौका पाएका हुन् । शेरबहादुर देउवापक्ष, शेखर कोइराला पक्ष र उपसभापति विश्वप्रकाश शर्माको पनि समर्थन पाएपछि आङ्देम्बे दलको नेता बनेका हुन् । 

पप्पु–एडभेन्चर जेभीको बदमासी : सम्झौताको नौ वर्षसम्म पुलको पिल्लरसमेत बनाएन, उल्टै अदालतमा मुद्दा

कैलालीमा सम्झौताको नौ वर्षसम्म पुलको पिल्लरसमेत नउठाएको पप्पु–एडभेन्चर जेभी उल्टै अदालत गएको छ । धनगढी उपमहानगरपालिका– १७ पथरीस्थित शिवगंगा नदीमा पुल निर्माणको ठेक्का पाएको कम्पनीले इस्टिमेटअनुसार नै जग बनाएको दाबी गर्दै उच्च अदालत दिपालय महेन्द्रनगर इजलासमा गत वर्ष रिट दायर गरेपछि प्रक्रिया ठप्प छ । अदालतले हालै मध्यस्थकर्ता तोकेर ९० दिनभित्र जगको गुणस्तर जाँच गरी प्रतिवेदन दिन भनेको छ ।

कम्पनीले सम्झौताको करिब पाँच वर्षपछि मात्र पिल्लरको जग हालेको थियो । तर, सडक डिभिजन कार्यालय कञ्चनपुरले जाँच गर्दा पिल्लर इस्टिमेटअनुसार नबनेको ठहर गरेको थियो । सडक डिभिजनका प्रमुख डिभिजनल इन्जिनियर राजेशकुमार यादवका अनुसार नयाँ ठाउँमा जग हालेर पुल बनाउन निर्देशन दिइए पनि निर्माण कम्पनीले त्यसपछि काम नै गरेन । ‘अनुगमन गर्दा जग इस्टिमेटअनुसार नभएको पाइएपछि उक्त ठाउँबाट २५–३० मिटर यताउता पुल बनाउन केन्द्रले स्वीकृति दिएको थियो,’ यादवले भने, ‘तर निर्माण कम्पनी पछि काममै फर्केन ।’

रोल्पामा दलित बालकमाथि निर्घात कुटपिट, घटनामा संलग्न तीन पक्राउ

दलित बालकमाथि कुटपिट गरेको आरोपमा रोल्पा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको गंगादेव गाउँपालिका–५, पाखापानी फूलबासका ११ वर्षीय खगेन्द्र विकमाथि गत शुक्रबार कुटपिट भएको स्थानीयको भनाइ छ।

कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय टोपबहादुर खत्री (२०), भीमबहादुर खत्री (५०) र मस्तबहादुर खत्री (४५)लाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक सुनील थापा नेपालीले जानकारी दिए। प्रहरीका अनुसार पीडित परिवारले सोमबार इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी दर्ता गरेका थिए।

स्थानीय कुइनेटानिवासी पूर्णबहादुर विकका छोरा खगेन्द्र खेल्ने क्रममा टोपबहादुरको घरभित्र छिरेपछि त्यहीँ समाएर कुटपिट गरेको प्रहरीको भनाइ छ। स्थानीयका अनुसार उनलाई दलितको छोरा भएर क्षेत्रीको घरमा पसेको भन्दै कुटपिट गरिएको थियो। बालकमाथि टोपबहादुरले कुटपिट गरेको र अरूले साथ दिएको खुल्न आएको रोल्पा प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

भोलि देशभर पानी पर्ने, हावाहुरीको पनि चेतावनी

भोलि बुधबार देशभर पानी पर्ने आकलन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा आज रातिबाट भने प्रि-मनसुन सक्रिय हुने देखिएको छ। पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने आकलन छ। त्यस्तै, बुधबार कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि पानी पर्ने देखिन्छ। तर, कोशीका पहाडी भूभागका एक–दुई स्थानमा भने ठुलो वर्षाको पनि सम्भावना छ।

विभागका प्रवक्ता विभूति पोखरलेका अनुसार प्रि-मसुनको सिजन भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहन्छ। ‘आज राति कोशीका धेरै स्थान मधेश, बागमती र गण्डकीका केही स्थानमा पानी पर्ने देखिन्छ, भोलि अझ विस्तार भएर देशभर पानी पर्ने आकलन छ,’ उनले भनिन्। बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको आकलन छ। 

अर्थतन्त्रको श्वेतपत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विश्लेषण- ‘अनुत्पादक चक्र’बाट अर्थतन्त्र ‘पुनर्संरचना र स्तरोन्नतिको चरण’मा प्रवेश

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अनुत्पादक चक्रमा फसेको अर्थतन्त्र ‘पुनर्संरचना र स्तरोन्नतिको चरण’मा प्रवेश गरेको विश्लेषणसहित वर्तमान सरकारले अपनाउने सम्भावित अर्थनीतिबारेको श्वेतपत्र जारी गरेका छन् । ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सोमबार सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले विगतमा अपनाइएको गलत नीति र कार्यान्वयन कमजोरीका कारण अर्थतन्त्र अनुत्पादकको चक्रमा फसेको दाबी गर्दै समुन्नतिको यात्रामा अगाडि बढ्नु अहिलेको प्राथमिकता रहेको उल्लेख गरेका छन् । १३ चैतमा अर्थमन्त्रीमा पदबहाली गरेपछि उनले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गर्ने निर्णय गरेका थिए । 

७६ बुँदे स्थितिपत्रमा अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रका समस्या, चुनौती, रूपान्तरणका अवसर र आधार प्रस्तुत गरेका छन् । मन्त्रालय सम्हालेको एक महिनापछि आर्थिक स्थितिपत्र सार्वजनिक गरेका अर्थमन्त्रीले विगतमा अर्थतन्त्रले गति नलिनुमा स्रोतको अभाव नभई अवधारणागत अस्पष्टता, संस्थागत कमजोरी र फितलो कार्यान्वयनलाई जिम्मेवार ठहराएका छन् । 

अर्थमन्त्री वाग्लेले सोच, संकल्प र शासकीय सदाचारको संकटले नेपाल समुन्नत हुन नसकेको तर्कसहित श्वेतपत्रमा नेपाली जनताको सकारात्मक सामाजिक पुँजीलाई सही नियत, नीति र कार्ययोजनाका साथ समुन्नतिको यात्रामा अगाडि बढ्नु अहिलेको प्राथमिकता रहेको जनाएका छन् । ‘मुलुकको अर्थतन्त्र पुनर्संरचना र स्तरोन्नतिको चरणमा प्रवेश गरेको छ । नेपालको अर्थ–राजनीतिले नयाँ मोड लिँदै गर्दा नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता दिइएको छ,’ स्थितिपत्रमा छ । 

आश्रमको बसाइ र खानपानप्रति सन्तुष्ट छैनन् सुकुमवासी

गुह्येश्वरी स्कुलनजिकै सार्वजनिक जग्गामा छाप्रो बनाएर ५० वर्षदेखि बस्दै आएकी थिइन्, सीता नेपाली । त्यहाँ उनका छोरी, नातिनातिनीसहित पाँचजनाको परिवार बस्थ्यो । तर, वर्षौँदेखिको बास शनिबार गुम्यो ।

सीताले टहराभित्रको सामान जेनतेन बाहिर निकालिन् । डोजरले टहरो भत्काएपछि आत्तिएका चार कक्षामा पढ्ने नाति र ६ कक्षामा पढ्ने छोरीलाई थपथपाइन् । बालबच्चालाई मानसिक दबाब नपरोस् भनेर उनले आफ्नो आँसु दबाइन् । अहिले सीताको परिवार काठमाडौं महानगरपालिकाको सहयोगमा कीर्तिपुरको रामघाटस्थित राधास्वामी आश्रममा छ । तर, आश्रमको बसाइ र खानपान सन्तोषजनक नभएको उनको गुनासो छ । आफूहरूलाई कुनै स्थायी ठाउँ वा विकल्प दिनुपर्ने उनको माग छ । 

‘हामीलाई खान त दिएको छ, तर चित्तबुझ्दो छैन । खुला टहरोमा सामान एकातिर भुइँमा थुपारिएको छ, अर्कोतिर भुइँमै बिस्तारा लगाएर सुत्नुपरेको छ । अब यहाँ कहिलेसम्म राख्ने हो पत्तो छैन, यस्तोमा कसरी समय बिताउने ?’ उनले भनिन्, ‘हामी खोलाको छेउमा रहरले बसेका थिएनौँ, त्यहाँ पनि निकै डर थियो । सरकारले हटायो, केही छैन । तर, अब स्थायी रूपमा बस्ने, गुजारा चलाउन कमाउने र बच्चाहरूलाई पढाउने सुरक्षित ठाउँ त चाहियो नि !’

सुझावित समाचार