चन्द्रगढी महिला गोल्डकप : संकटालाई सडन डेथमा हराउँदै एपिएफ सेमिफाइनलमा

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल एपिएफ क्लब पहिलो चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको भद्रपुरमा चलिरहेको गोल्डकपको बिहीबार सम्पन्न क्वार्टरफाइनलमा एपिएफले संकटा क्लबलाई सडनडेथमा ७–६ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । एपिएफले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 

मेची रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टोली गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरले निर्णय लिन नसकेपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि सडन डेथमा एपिएफले बाजी मारेको हो । सडन डेथमा पनि तीन–तीनजना खेलाडीले गोल प्रहार गरेका थिए । सडन डेथमा संकटाकी प्रतिक्षा राईको प्रहार अकासिन पुग्दा संकटा क्वार्टरफाइनबाटै बाहिरिएको हो । 

यसअघि टाइब्रेकरमा एपिएफका कप्तान अनिता बस्नेत, गीता राना र रश्मिकुमारी घिसिङले गोल गरेका थिए । अनिता केसी र रेनुका नगरकोटीको प्रहारलाई संकटाकी गोलरक्षक सुशीलाकुमारी चौधरीले बचाइन् । टाइब्रेकरमा संकटाकी यशोदा शाही, सुक्रिया मियाँ र विदेशी खेलाडी सुसिया लिलाले गोल गरेका थिए । सुनिता भुलानको प्रहार अकासिँदा पूर्णिमा राईको प्रहार एपिएफकी गोलरक्षक अञ्जना रानामगरले बचाइन् । 

सडन डेथमा चुक्यो संकटा
सडन डेथमा एपिएफकी सरु लिम्बू, गोलरक्षक अञ्जना रानामगर र हिराकुमारी भुजेलले गोल गरे । संकटाका गोलरक्षक सुशीलाकुमारी चौधरी र झुमा विश्वकर्माले गोल गरे । सडन डेथमा संकटाकी प्रतीक्षा राईको प्रहार अकासियो । नेपाली महिला फुटबलमा एकछत्र राज गरेको क्लब एपिएफलाई संकटाविरुद्ध जित निकाल्न निकै मुस्किल परेको थियो । नेपाली महिला फुटबलमा लामो इतिहास बोकेको एपिएफलाई केही वर्षअघि मात्र बनेको संकटाको महिला टोलीले खेलको निर्धारित समयमा बराबरीमा रोक्न सफल भयो । 

संकटा र एपिएफले निर्धारित समयमा उत्कृष्ट प्रदर्शन गरे । अधिकांश नेपाली राष्ट्रिय महिला टिमका सदस्यसहित मैदानमा उत्रिएको एपिएफलाई उमेर समूहका राष्ट्रिय खेलाडी र तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको संकटाले दबाबमा राखेको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले मौका बनाए पनि सदुपयोग गर्न सकेनन् । 

९० मिनेट गोलरहित बराबरी
एपिएफले संकटाविरुद्ध खासै डरलाग्दो मुभ बनाउन सकेन । खेलको १५औँ मिनेटमा एपिएफकी अनिता बस्नेतले डिबक्सबाट गरेको सशक्त प्रहार संकटाकी गोलरक्षक सुशीलाकुमारीले पन्च गरेर बचाइन् । पहिलो हाफको अतिरिक्त समयमा एपिएफकी मनमाया दमाईंको कर्नरमा डिबक्समा रहेकी रेनुका हमालले डिबक्समा गरेको प्रहार संकटाकी गोलरक्षक सुशीलाले नियन्त्रणमा लिइन् । संकटाले पनि खेलमा मौका बनाएको थियो । खेलको ३०औँ मिनेटमा संकटाकी विदेशी खेलाडी क्विनबेल अकोसाले डिबक्सबाट गरेको प्रहार एपिएफकी डिफेन्डर प्रतीक्षा चौधरीले गोललाइनबाट बचाइन् । 

खेलको ३३औँ मिनेटमा संकटाकी विदेशी 
खेलाडी डोरा बोआफेमाले गरेको शक्तिशाली प्रहार क्रसबारमा लागेको थियो । बिहीबार एपिएफकी गीता राना म्यान अफ दी म्याच हुँदै ११ हजार रुपैयाँ पाइन् । शुक्रबार हुने पहिलो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी फुटबल क्लबबिच खेल हुनेछ । 

सुझावित समाचार