छैटौँ सोल्मा अन्तरवडा कप–२०८३ : वैशाख ८ गतेदेखि हुने प्रतियोगितामा १४ वडा सहभागी

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८ गतेदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । वार्षिक रूपमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले वैशाख ८ गतेदेखि १२ गतेसम्म ‘छैटौँ सोल्मा अन्तर वडा कप– २०८३’ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । 

पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगितामा प्रथम हुने वडाले नगद पुरस्कार एक लाख ११ हजार १११ तथा द्वितीय हुने वडाले नगद रु. ६६ हजार ६६६ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए । प्रतियोगिताका सेमिफाइनलिस्ट दुईवटा वडाले रु. २५ हजार ५५५ का दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 

प्रतियोगितामा बेस्ट प्लेयर एकजनालाई रु. पाँच हजार ५५५ तथा बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, हाई स्कोरर, बेस्ट कोच र राइजिङ प्लेयरलाई रु. दुई हजार २२२ का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता समापनको अवसरमा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान गरिने आयोजकले जनाएको छ ।  

प्रतियोगितामा जिल्लाका १४ वडाले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रतियोगितामा जिल्लाभित्रका वडाहरूले मात्र सहभागी हुन पाउने नियम बनाइएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सहभागी सबै खेलाडी एउटै वडाको हुनुपर्ने जनाइएको छ।

सुझावित समाचार