इकबाल बंगलादेश क्रिकेट बोर्डका नयाँ अध्यक्ष

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण
  • सरकारले निर्वाचित बंगलादेश क्रिकेट बोर्ड भंग गर्दै पूर्वक्रिकेटर तमिम इकबाललाई बनायो अध्यक्ष 

बंगलादेश सरकारले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को वर्तमान कार्यसमिति भंग गर्दै पूर्वक्रिकेटर तमिम इकबाललाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । अमिनुल इस्लाम नेतृत्वको बोर्डलाई निर्वाचनमा अनियमितता भेटिएपछि पाँचसदस्यीय छानबिन समितिको सिफारिसपछि हटाइएको बंगलादेशी एजेन्सीले जनाएको छ । नयाँ अध्यक्ष इकबालले ११ सदस्यीय एड हक समितिको नेतृत्व गर्नेछन् । गत अक्टोबरमा बंगलादेश क्रिकेट संघको निर्वाचन भएको थियो । निर्वाचनको क्रममा विभिन्न आर्थिक अनियमितता प्रमाणित भएपछि मंगलबार सरकारले अमिनुल इस्लामको बोर्ड भंग गर्दै इक्बाललाई जिम्मेवारी दिइएको हो । 

सरकारले नै निर्वाचनपछि पाँचसदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले निर्वाचित बोर्ड भंग हुनुपर्ने र नयाँ कमिटी बन्नुपर्ने सिफारिस गरेको थियो । सिफारिसकै आधारमा सरकारले यस्तो कदम चालेको हो । 

३७ वर्षीय इकबाल बोर्डका सबैभन्दा कम उमेरका अध्यक्ष बनेका छन् । इक्बालको नेतृत्वमा रहेको समितिमा पूर्वकप्तान मिन्हाजुल आबेदिन र पूर्वखेलाडी तथा कमेन्टेटर अथर अली खान पनि रहेका छन् । बंगलादेशी सरकारले आफ्नो निर्णयबारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई जानकारी गराएको छ । सरकारले क्रिकेट बोर्ड भंग गर्नुको पछाडि सबै प्रमाण आइसिसीलाई बुझाएको छ । आइसिसीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । नयाँ अध्यक्ष इकबालले सरकारको निर्णयलाई आइसिसीले समर्थन गर्ने अपेक्षा राखेका छन् । इकबालले टेस्टमा ७० खेलमा पाँच हजार एक सय ३४ रन तथा एकदिवसीय खेलमा आठ हजार ३ सय ५७ रन जोडे । उनले २४३ एकदिवसीय खेलमा ७८.५२ को स्ट्राइक रेट राखेका थिए । टेस्टमा उनको व्यक्तिगत सर्वाधिक २०६ रन तथा एकदिवसीयमा १५८ रन थियो । 

९० दिनमा चुनाव गर्नुपर्ने

सरकारले क्रिकेट बोर्डभित्र विवाद बढ्दै गएकाले हस्तक्षेप गरेको हो । उसले निर्वाचनको वैधतामाथि प्रश्न उठाउँदै छानबिन कमिटी गठन गर्यो । यसक्रममा बोर्डभित्र विभिन्न कमिटीका निर्देशकहरूले राजीनामा दिएका थिए । बोर्डबाट बाहिरिएका निर्देशक तथा अन्य सदस्यहरूले निर्वाचनको क्रममा आर्थिक अनिमियता भएको बताएका थिए । इकबालको अध्यक्षमा रहेको बोर्डले अब ९० दिनभित्र निर्वाचन गर्नुपर्ने निर्देशन सरकारले दिएको छ । यो एड हक कमिटीले त्यहाँको राष्ट्रिय खेलकुद परिषद्सँग सहकार्य गर्नेछ । 

एड हक समितिले अघिल्लो निर्वाचनमा भएका सबै घटनाको प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । क्रिकेट बोर्डभित्रका सबै नराम्रा पक्ष हटाउँदै निर्वाचन गर्ने अधिकार पाएको इकबालले बताए । ‘हामीलाई दिइएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्छौँ । तीन महिनाको अवधिमा निर्वाचन पनि हुनेछ,’ उनले भने, ‘यो कमिटीको उद्देश्य नै बोर्डका नियमित कामकाज सहज बनाउनु हो ।’ अमिनुल इस्लाम नेतृत्वको बोर्डले एउटा गलत निर्णय लिँदा बंगलादेशले गत महिना भारत र श्रीलंकाले आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता गुमाएको ठहर पनि गरेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सले बंगलादेश फास्ट बलर मुस्तफिजुर रहमानलाई हटाएपछि बंगलादेश बोर्डले विश्वकप बहिष्कार गरेको थियो । आइसिसीले बंगलादेशलाई बारम्बार चेतावनी दिँदा पनि नखेल्ने अडान राखेपछि उसको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा स्थान दिएको थियो । अब यो घटनाको पनि छानबिन हुने भएको छ ।

एकैपटक ६ निर्देशकले दिए राजीनामा

आइसिसी टी–२० विश्वकपअघि देखिइएको विवादपछि बंगलादेश क्रिकेट बोर्डमा कार्यरत विभिन्न जिम्मेवारी पाएका निर्देशकहरूले राजीनामा दिएका थिए । राष्ट्रिय खेलकुद परिषद्ले विश्वकपमा बंगलादेशले बहिष्कार गर्नुको कारण माग गरेको थियो । एक महिनाभित्र स्पष्टीकरण नबुझाउँदा बोर्ड खारेज गर्ने परिषद्ले चेतावनी दिएको थियो । तर, तत्कालीन अध्यक्ष इस्लामले केही पनि प्रतिक्रिया दिएनन् । सरकारले क्रिकेट बोर्डमा नयाँ अध्यक्ष बनाएपछि आइसिसीले तेस्रो पक्षको हस्तक्षेप भन्न सक्छ । यस्तो अवस्थामा बंगलादेशमाथि आइसिसीको प्रतिबन्धसमेत हुन सक्ने सम्भावना छ । 

See More On

सुझावित समाचार