सडक जोगाउन धनकुटामा ‘सडक हेरालु’ नियुक्त

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

रेखदेखको अभावमा पक्की सडकहरु समय अगावै विग्रिने, भत्किने गर्न थालेपछि पूर्वाधार विकास कार्यालय धनकुटाले सडक हेरालु खटाउन थालेको छ। कार्यालयले परीक्षणकालको रुपमा धनकुटाको हिले–छिन्ताङ सडकखण्ड, बिहीबारे हटिया–कर्मिटार–छथर सडक र गुठिटार–बाघेखोर–छिरिङ सडकखण्डमा सडक हेरालु खटाएको छ।

निर्माण सम्पन्न भइसकेका यी सडकहरुमा नियमित हेरचाह गर्न तीन महिनाको लागि सडक हेरालु नियुक्त गरिएको कार्यालयले जनाएको छ। नियमित हेरचाह हुन नसक्दा जिल्लाका कतिपय पक्की सडकहरु विग्रिन थालेका छन्। तीन वटा सडकमा २–२ जना सडक हेरालु नियुक्ति गरिएको छ। उनीहरुको कार्यसम्पादनको आधारमा अवधि थप हुने छ।

सडक हेरालुले सडकको नियमित मर्मत, नाली सरसफाई, सामान्य खालको पहिरो पन्छाउने, अतिक्रमण रोक्ने तथा सवारी आवतजावतलाई सहज बनाउने गर्नुपर्ने छ। कहिलेकाहीँ वर्षा याममा हुने सामान्य पहिरोका कारण नाली पुरिँदा, लेदो सडकमा परेपछि सडक अवरुद्ध हुने गर्छ। यस्ता खालका सामान्य समस्याहरुलाई समाधान गर्नको लागि सडक हेरालुको व्यवस्था गरिएको कार्यालयका प्रमुख उत्तम नारायण खरेलले बताए।

अहिले नियुक्त भएका सडक हेरालुहरुले हिले–छिन्ताङ सडकखण्डको करिब १० किलोमीटर, बिहीबारे हटिया–कर्मिटार–छथर सडकखण्डको २१ किलोमिटर र गुठिटार–बाघखोला–छिरिङ सडकखण्डको १० किलोमिटर क्षेत्रमा काम गर्ने छन्। 

सुझावित समाचार