प्रहरीको प्रमुख दायित्व नागरिकको सन्तुष्टि हो : आइजिपी कार्की

मंगलबार, २० माघ, २०८२
डिजिटल संस्करण

प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीले नागरिकको सन्तुष्टिनै प्रहरीको प्रमुख जिम्मेवारी भएको स्पष्ट पारेका छन्। उनले प्रहरी सेवामा नागरिकमैत्री, उत्तरदायी र पीडितमैत्री सोच आवश्यक रहेको बताउँदै समयअनुकूल परिवर्तनका लागि प्रहरी संगठन तयार रहनुपर्नेमा जोड दिए।

कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा युएनओपिएसको सहयोगमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजिपी कार्कीले प्रहरी र नागरिकबीचको विश्वास बलियो बनाउने कार्यमा यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताए।

‘प्रहरीको प्रमुख कर्तव्य नै नागरिकको सन्तुष्टि हो,’ उनले भने, ‘प्रहरी नागरिकमैत्री हुन जरुरी छ।’

नवनिर्मित भवनले सेवा सुविधा प्रवाहमा सहजता थप्ने विश्वास व्यक्त गर्दै उनले प्रविधिमैत्री भौतिक संरचनासँगै प्रहरी कर्मचारीको सोच र कार्यशैलीमा पनि परिवर्तन आवश्यक रहेको बताए। राज्यले प्रदान गर्ने सेवा र नागरिकको पहुँच समान हुनुपर्ने उल्लेख गर्दै उनले सेवा प्रवाह पीडितमैत्री, समानता र न्यायको आधारमा हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नागरिकले भरोसा गर्न सक्ने किसिमको प्रहरी सेवा आवश्यक रहेको बताए। कपिलवस्तुजस्तो संवेदनशील क्षेत्रमा यस्ता सेवा केन्द्र निर्माण हुनु सकारात्मक पक्ष भएको उनले बताए।

युएनओपिएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा केन्द्रहरूले नेपालमा शान्ति सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले सुविधासम्पन्न भवनबाट सेवा दिन पाउनु प्रहरीका लागि पनि उत्साहजनक भएको उल्लेख गरे।

गैरसरकारी संस्था महासङ्घ लुम्बिनी प्रदेशकी अध्यक्ष सुशीला बेल्बासेले समाजमा देखिएका विभिन्न किसिमका नकारात्मक क्रियाकलापलाई नेपाल प्रहरीले सबल रूपमा समाधान गर्दै आएको बताइन्।

उक्त सेवा केन्द्र २ करोड ३६ लाख ६४ हजार ७ सय १ रुपैयाँको लागतमा १२ कोठे भवनका रूपमा निर्माण गरिएको हो।

सुझावित समाचार