खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २६ पुसदेखि १ माघसम्म हुन लागेको हो ।
मंगलबार प्रतियोगिताबारे जानकारी दिन आयोजक तीनपोखरी समाज विकास क्बलले खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। ‘खेलकुद संस्कृति र पर्यटन, समृद्ध समाज हाम्रो अभियान’ भन्ने नारासहित जिल्ला र प्रदेशस्तरका खेलाडीलाई व्यावसायीकरण गर्न प्रतियोगिता आयोजना गरेको क्लबका सचिव तुलाराम मगरले बताए।
प्रतियोगितामा खेलकुदका साथै रमाइलो मेला, स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारबाट सांस्कृतिक कार्यक्रम र हेलिकोप्टरद्वारा संखुवासभाको धार्मिक पर्यटकीयस्थल शिवधारा, सभापोखरी र पाथीभरा माताको दर्शन गर्ने कार्यक्रम तय भएको क्लबका अध्यक्ष मिनेश चापागाईंले बताए।
प्रतियोगितामा कोशी प्रदेश र संखुवासभा जिल्लाका नाम चलेका नेपाल सशस्त्र प्रहरी पकली कोशी प्रदेश, बेलका युथ क्लब उदयपुर, चुलाचुली स्पोर्टिङ क्लब दमक झापा, खाँदबारी युथ क्लब, सेकाहा क्लब, मकालु फ्रेन्डस, शीतलपाटी क्लब र आयोजक तिनपोखरी क्लब आठवटा क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद दुई लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद एक लाख २१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विभिन्न विद्यागत उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ ।