नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानका सचिव पारस खड्काले वार्षिक गतिविधिका कार्यक्रम सार्वजनिक गर्दा पुरुषको सिनियर क्रिकेट टोलीलाई टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गराउने लक्ष्य राखेको बताए । ‘नेपालले वर्षायाम सुरु हुुनुअघि कम्तीमा तीनवटा टेस्ट राष्ट्रसँग सिरिज खेल्ने लक्ष्य बनाएको छ,’ खड्काले भने, ‘उनीहरूलाई नेपालमै बोलाउने वा अवेमा सिरिज खेल्ने भन्नेमा छलफल भइरहेको छ ।’ आगामी फेब्रुअरीमा टी–२० पुरुष विश्वकप रहेकाले क्यानले पुरुषतर्फ कुनै पनि सिरिज समावेश गरेको छैन । महिला सिनियर टोलीले जनवरीमै पहिलोपटक आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्दै छ । यो अवधिमा नेपालमा अन्य टोलीलाई बोलाएर शृंखला गर्ने कार्यक्रम नरहेको खड्काले बताए । गत वर्ष नेपालले टी–२० विश्वकप छनोट खेल्ने भएकाले क्यानले विश्वकपलाई केन्द्रित बनाएर वार्षिक क्यालेन्डर बनाएको उनले खड्काले बताए ।
यसपटक पुरुष टोलीले एकदिवसीय शृंखलामा प्राथमिकता पाउनेछ । नेपालको ‘ए’ टोलीले शृंखला खेल्नेछ । ‘पुरुष ‘ए’ को विकासमा पनि विभिन्न योजना समावेश गरिएको छ,’ उनले भने, ‘घरेलु क्रिकेटमा गरेको लगानी व्यवस्थित गराउन र वर्षभरि खेलाडीलाई संलग्न गराउने लक्ष्य छ ।’ क्यानले जुनदेखि अगस्टसम्म वर्षायामको समय पनि खेलाडीलाई व्यस्त बनाउने लक्ष्य राखेको छ । क्यानले यो समयमा अवे सिरिजमा केन्द्रित गरी क्यालेन्डर बनाएको छ । ‘अगस्टमा एसिसी प्रिमियर कप प्रस्तावित गरेको छ । कुवेतसँग भएको सम्झौताअनुरूप द्विपक्षीय शृंखला हुनेछ,’ क्यानका सचिव खड्काले भने । गत वर्ष पहिलोपटक सहभागिता जनाएको अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपाल यसपटक पनि सहभागी हुने उल्लेख गरिएको छ ।
महिलातर्फ थप शृंखला
क्यानले यस वर्ष महिला क्रिकेटका लागि विभिन्न शृंखला समावेश गरेको छ । टी–२० विश्वकपको ग्लोबल छनोटदेखि महिला यू–१९ टोलीलाई प्राथमिकतामा राखेको देखिन्छ । क्यानको वार्षिक क्यालेन्डरमा महिला क्रिकेटका लागि गत वर्षभन्दा बढी संख्यामा विभिन्न शृंखला समावेश गरिएका छन् । उमेर समूहदेखि नै एक्सपोजर पाउने हिसाबले खेल तथा शृंखला तय गरिएका छन् । यसैगरी, घरेलु प्रतियोगितामा पिएम कपको जिल्ला र प्रदेशअन्तर्गतका प्रतियोगिता जनवरीदेखि फेब्रुअरी महिनासम्म चल्नेछ । राष्ट्रिय प्रतियोगिता भने मार्चदेखि अप्रिलसम्म हुनेछ । तेस्रो नेपाल प्रिमियर लिग योपटक अक्टोबरमै हुनेछ ।
