शनिबार : १० बजेसम्मका १० मुख्य खबर

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

बालुवाटार बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको आग्रहः अब कुनै अलमल नगरी भविष्य सम्झेर चुनाव सफल पारौँ
प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख ३ दलका शीर्ष नेतालाई अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्न आग्रह गरेकी छिन्। चुनावी तयारीबारे छलफल गर्न कार्कीले शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्रीसँग देउवाले भने –सबै दल चुनावमा जान तयार छन्
आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन्।

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी
निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोगको बैठकले आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो । आयोगका अधिकारीकाअनुसार आचारसंहिता माघ पहिलो साताबाट लागू गर्ने तयारी छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अघिल्लो निर्वाचनमा ५० दिनअघि आचारसंहिता लागु भएको उल्लेख गर्दै यसपटक पनि यही सेरोफेरो लागू गर्ने योजनामा आयोग रहेको बताए ।

जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ मतदाता थपिए, कुन प्रदेशमा कति पुगे मतदाता ? 
जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ मतदाता थपिएका छन्। आन्दोलनपछि २१ फागुनका लागि चुनाव घोषणा भएसँगै निर्वाचन आयोगले ९ असोजदेखि ५ मंसिरसम्म सञ्चालन गरेको मतदाता नामावली दर्ता संकलन कार्यक्रममा ८ लाख ३७ हजार ९४ जनाले नाम दर्ता गराउन आवेदन दिएकोमा जाँचबुझपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता बनेका हुन् ।

एसेज सिरिजः १५ वर्षपछि अस्ट्रेलियामा इंग्ल्यान्डले जित्यो टेस्ट 
करिब १५ वर्षपछि अस्ट्रेलियामा इंग्ल्यान्डले टेस्ट खेलमा जित निकालेको छ। एसेज सिरिजअन्र्तगतको चौथो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि ४ विकेटको जित हात पारेको हो। सिरिजका सुरुका तीन खेल अस्ट्रेलियाले जितिसकेको छ।  चौथो खेलमा अस्ट्रेलियाले दिएको १७५ रनको लक्ष्य पूरा गर्दै इग्ल्यान्डले जित निकालेको हो। अस्ट्रेलियामा भएको १९ वटा टेस्ट खेलपछि यो इंग्ल्यान्डले जित हात पारेको हो।

सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन वहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ। आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाकासाथ निर्माण व्यवसायीबाट काम भइरहेको छ। निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी  निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ चार सय ६९ मिटर रहेको छ।

आनन्दीदेवी मृत्यु प्रकरण : एक वर्षपछि फरार प्रतिवादीहरू पक्राउ
सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारीगाउँ माइती भएकी करिब २५ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीले दुई मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नवराजपुर–३ का करिब २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको टोलीले खोजतलासको क्रममा यादवद्वयलाई नेपाल–भारत सीमा नजिक नवराजपुर–३ झाँझपट्टि क्षेत्रबाट ९ पुसमा पक्राउ गरिएको हो 

समानुपातिक बन्दसूची बुझाउने म्याद पाँच दिन थपिदिन प्रधानमन्त्रीसँग देउवाको अनुरोध 
कांग्रेस सभापति शेरबहादुर देउवाले २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने समय पाँच दिन थपिदिन प्रधानमन्त्री सुशीला कार्कीलाई अनुरोध गरेका छन्।  निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको शीर्ष नेताको बैठकका क्रममा देउवाले पार्टीको महाधिवेशन तयारीका कारणले बन्दसूची टुंग्याउन नसकिएको भन्दै समय थपिदिन अनुरोध गरेको स्रोतले बतायो।

एकतासम्बन्धी संवाद गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिने उज्यालो नेपालको निर्णय 
उज्यालो नेपाल पार्टीले विभिन्न राजनीतिक दलहरूसँगको एकताको बारेमा संवाद गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको बैठकले पार्टीको निर्णयहरू सबैको सहअस्तित्वलाई स्थापित हुने गरी उज्यालो नेपाल पार्टी सदैब एकताको पक्षमा रहेको र आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णयसमेत गरेको छ । 

एमालेले बोलायो सचिवालय बैठक
नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो।  बैठकमा समानुपातिक उम्मेदवारको बारेमा छलफल हुनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ।

सुझावित समाचार