एसेज सिरिज: १५ वर्षपछि अस्ट्रेलियामा इंग्ल्यान्डले जित्यो टेस्ट

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

करिब १५ वर्षपछि अस्ट्रेलियामा इंग्ल्यान्डले टेस्ट खेलमा जित निकालेको छ। एसेज सिरिजअर्न्तगतको चौथो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि ४ विकेटको जित हात पारेको हो। 
सिरिजका सुरुका तीन खेल अस्ट्रेलियाले जितिसकेको छ। 

चौथो खेलमा अस्ट्रेलियाले दिएको १७५ रनको लक्ष्य पूरा गर्दै इग्ल्यान्डले जित निकालेको हो। अस्ट्रेलियामा भएको १९ वटा टेस्ट खेलपछि यो इंग्ल्यान्डले जित हात पारेको हो। 
टस जितेर पहिला बलिङ गरेको इंग्ल्यान्डले अस्ट्रेलियालाई १५२ रनमै अलआउट गरेको थियो। पहिलो इनिङको जवाफी ब्याटिङमा इंग्ल्यान्ड झन् कमजोर देखियो। उसलाई अस्ट्रेलियाले ११० रनमै अलआउट गरी ४२ रनको महत्वपूर्ण अग्रता कायम राखेको थियो। 

दोस्रो इनिङमा अस्ट्रेलिया १३२ रनमा अलआउट भएपछि इंग्ल्यान्डले १७५ रनको लक्ष्य पाएको थियो। कठिन पिचमा इंग्ल्यान्डका ब्याट्सम्यानहरूले आक्रामक र बहादुरीपूर्ण ब्याटिङ गरेर जित निकालेका हुन्। दोस्रो इनिङमा ओपनर ज्याक क्रलीले ३७ तथा बेन डकेटले ३४ रन बनाएर जितको आधार बनाएका थिए। त्यसपछि ज्याकोब बेथेलले ४०, जो रुटले १५ तथा ह्यारी ब्रुकले अविजित १८ रनको योगदान गरी टिमलाई जित दिलाएका हुन्। दोस्रो दिनमै सकिएको खेलमा अस्ट्रेलियाभन्दा इंग्ल्यान्डका बलरहरू हाबी भएका थिए। 

सिरिजअर्न्तगत पाँचौ र अन्तिम टेस्ट ४ जनवरीदेखि सिड्नी क्रिकेट मैदानमा हुनेछ। 
 

सुझावित समाचार