सिराहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारीगाउँ माइती भएकी करिब २५ वर्षीया आनन्दीदेवी सदायकाे मृत्यु प्रकरणमा प्रहरीले दुई मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवराजपुर-३ का करिब २२ वर्षीय संजीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको टोलीले खोजतलासको क्रममा यादवद्वयलाई नेपाल-भारत सीमानजिक नवराजपुर-३ झाँझपट्टी क्षेत्रबाट ९ पुसमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी महेशपुरपतार प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
दोनवारी गाउँस्थित माइतीघरको कोठामा २ वैशाखको मध्यान्ह करिब १२ बजेतिर घरको कोठामा आनन्दीदेवी झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उक्त घटना लगत्तै फरार भएका यादवद्वय सीमावर्ती भारतीय गाउँमा लुकीछिपी बस्दै आएको बताइएको छ । ९ पुस ०८१ मा उनीमाथि सञ्जीव र श्यामसुन्दरले सामूहिक बलात्कार प्रयास गरेका थिए । प्रहरीले त्यतिबेला जाहेरी दर्ता गर्न तथा आरोपीलाई पक्राउ गर्न आनाकानी गर्नुका साथै आरोपी पक्षले गाउँमै मिल्न दबाब दिँदा तनावमा रहेकी आनन्दी मृत भेटिएको माइतीपक्षको आरोप छ ।
यस्तो थियो घटना
छिमेकी बरियारपट्टी गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घर गइरहेका बेला आनन्दीलाई गत ९ पुसको बिहान करिब ११ बजे गाउँ माइती गाउँ नजिकै रहेको नवराजपुर गाउँपालिका–३ जगतपुरमा अविवाहित संजिव र दुई छोराछोरीका बाबु समेत रहेका श्यामसुन्दरले समातेर घिसार्दै नजिकैको आँपको बगैँचा पुर्याएका थिए । बगैंचामा पुर्याएर आनन्दीमाथि बलात्कार गर्ने उद्देश्यले लछारपछार गर्दै लगाएको लुगा समेत च्यात्न थालेपछि चिच्याउँदै भागेर घर पुगेको माइती पक्षले दिएको जाहेरीमा उल्लेख छ । घरमा पुगेर आफूमाथि भएको ज्यादतीको विषयमा आमालाई सुनाएपछि त्यही दिन महेशपुरपतार प्रहरीमा किटानी जाहेरी परेको थियो तर प्रहरीले जाहेरी दर्ता समेत नगरेको आमा बिल्टौनदेवीको गुनासो छ ।
त्यही दिन माइतीमै रहेका श्रीमान् उमेश सदायसहित महेशपुरपतारस्थित इलाका प्रहरी कार्यालयमा उनकी आमा बिलटौनदेवीले दुईजनाविरुद्ध जबरजस्ती करणी कसूरमा जाहेरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय महेशपुरपतारले उक्त जाहेरी २५ दिनपछि ४ माघमा दर्ता नम्बर ४० मा दर्ता भयो भन्ने पूर्जी दिएर पठाएलगत्तै पुनः बोलाएर जाहेरी गडबड रहेछ भन्दै खोसेर च्यातिदिएको पीडित परिवारले जनाएको छ । प्रहरीले सोही जाहेरी दुई महिना १६ दिनपछि गत २५ फागुनमा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । उनको मृत्युपछि मधेश प्रदेश प्र्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरी अनुसन्धानअघि बढाएको थियो ।