त्रिवि क्रिकेट रंगशालामा दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार चितवन राइनोज र काठमाडौं गोर्खाजबिच महत्वपूर्ण खेल हुँदै छ । विजेताले प्लेअफको आशा बलियो बनाउनेछ । काठमाडौंको तुलनामा चितवनलाई शीर्ष दुई स्थानमा उक्लने अवसर पनि छ । यी दुवै टोलीले समान ४ अंक जोडेका छन् । रनरेटमा चितवन तेस्रो तथा काठमाडौं चौथो स्थानमा छ । काठमाडौंले चितवनको तुलनामा एक खेल बढी खेलेको छ ।
गत सिजन थोरै रनरेटले काठमाडौं प्लेअफमा पुग्न सकेन । चालू सिजनमा चार खेल खेलेको काठमाडौंको रनरेट कमजोर छ । चितवनले दुई जित निकाल्दा रनरेट राम्रो बनाएको छ । फेरि उत्कृष्ट फर्ममा रहेको विराटनगर किंग्समाथिको जितले चितवनको मनोबल उच्च छ । आफ्नो तेस्रो खेलमा चितवनले विराटनगरविरुद्ध एकपक्षीय जित हात पारेको थियो । पहिलो खेलमै रञ्जित कुमारले पाँच विकेट लिँदा चितवनको स्पिन बलियो देखिएको छ ।
काठमाडौंले फास्ट बलरभन्दा पनि चितवनका स्पिनर रञ्जितको घातक बलिङ स्पेललाई रोक्नुपर्छ । रञ्जितले कसिलो बलिङ गरेको अवस्थामा काठमाडौंको ब्याटिङ समस्यामा पर्न सक्छ । चितवनका इंग्लिस ब्याट्सम्यान रवि बोपाराले लगातार तीन खेलमा अर्धशतकीय इनिङ्स खेल्दा विपक्षी बलरलाई टाउको दुखाइ बनिरहेको छ । काठमाडाैंले बलियो बलिङ आक्रमणका साथ बोपारालाई रोक्ने योजना बनाउनेछ ।
जितको प्रतीक्षामा कर्णाली र विराटनगर
६ अंकका साथ विराटनगर दोस्रो तथा २ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा छन् । एनपिएलमा शुक्रबार दिउँसो ४ बजे यी दुवै टोली आमनेसामने हुँदा जित नै लक्ष्य राखेका छन् । लगातार तीन खेलमा जित निकालेको विराटनगर चितवनसँग स्तब्ध बन्यो । विराटनगर फेरि जितको ‘ट्र्याक’मा फर्कन चाहन्छ । पहिलो खेलमा जित निकाल्दै दोस्रो एनपिएलमा उत्कृष्ट सुरुवात गरेको कर्णाली लगातार दुई खेलमा पराजित भयो । कर्णाली पनि विराटनगरविरुद्धको खेल जित्न चाहन्छ । यही कारण यो खेल रोमाञ्चकताले भरिनेछ ।
विराटनगरको तीन जितमा विदेशी खेलाडीसँगै कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । कर्णालीका स्वदेशी तथा विदेशी खेलाडीले पछिल्ला दुई खेलमा सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । कर्णालीले मध्यक्रमको ब्याटिङ लाइनअप पक्ष सुधार्दै विराटनगरविरुद्ध जित निकाल्ने योजना बनाएको छ ।
प्लेयर्स टु वाच
रञ्जित कुमार (चिवतन)
चितवनले आफ्नो तेस्रो खेलमा विराटनगर किंग्समाथि सनसनीपूर्ण जित निकालेको थियो । चिवतनको जितमा रञ्जित नायक बनेका थिए । बायाँहाते स्पिनर रञ्जितले २१ रन खर्चेर पाँच विकेट लिए । उनले आफ्नो चार ओभरको स्पेलमा दुईपटक एकै ओभरमा समान दुई विकेट लिँदै विराटनगरलाई लगातार चौथो जितबाट वञ्चित गराए । यसअघि दुई खेलमा मौका नपाएका रञ्जितले अवसर पाउँदा आफूलाई प्रभावशाली बलरका रूपमा स्थापित गराएका छन् । रञ्जितको विशेषता नै पावर प्लेमा विपक्षी ब्याट्सम्यानलाई रोक्नु हो । काठमाडौं गोर्खाजविरुद्धको उनी चितवनका लागि प्रेरणादायी बलर बन्न सक्छन् ।
रसिद खान (काठमाडौं)
काठमाडौंले चालू एनपिएलमा चार खेल पूरा गरिसक्यो । काठमाडौंले समान दुई जित र हार सामना गरेको छ । काठमाडौंले प्लेअफ आशा जीवितै बनाउन चितवनलाई हराउनुपर्नेछ । खेलमा रसिदले बलर तथा ब्याट्सम्यानको भूमिका निर्वाह गर्न सक्छन् । चार खेलमा उनले दुईपटक मात्र ब्याटिङको अवसर पाए । समग्रमा उनले ब्याटिङमा २० रन जोडेका छन् । बलिङमा उनले तीन विकेट हात पारिसकेका छन् । लुम्बिनीलाई हराउँदा उनले १६ रन खर्चेर एक विकेट लिएका थिए । सुदूरपश्चिमसँगको प्रतिस्पर्धामा उनले २३ रन दिएर दुई विकेट हात पारे । बलिङमा बिस्तारै फर्ममा आइरहेको रसिदले चितवनविरुद्ध कमब्याक प्रदर्शन गर्ने अपेक्षा लिइएको छ ।
सूर्य तामाङ (विराटनगर)
विराटनगरले एनपिएलमा लगातार तीन खेल जित्दा बायाँहाते स्पिनर सूर्यले सटीक बलिङ प्रदर्शन गरेका थिए । चौथो खेलमा चितवनसँग हार व्यहोर्दा उनले एक विकेट पनि लिन सकेनन् । सो खेलमा उनले १४ रन दिए । यद्यपि, यसबाहेक अन्य तीन खेलमा उनी विकेटविहीन भएनन् । साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध सूर्यले २० रन दिएर दुई विकेट हात पारे । जनकपुरमाथि ९ रनको जित निकाल्दा उनले महत्वपूर्ण खेलाडीलाई क्रिजबाट हटाए । काठमाडौं र पोखराविरुद्ध समान १२ रन खर्चेर सूर्यले एक–एक विकेट लिएका थिए । उनी दोस्रो इनिङ्समा प्रभावशाली देखिएका छन् ।
सोमपाल कामी (कर्णाली)
कर्णालीले प्लेअफ आशा जीवितै राख्न दोस्रो स्थानमा रहेको विराटनगर किंग्सलाई निराश बनाउनुपर्नेछ । यो नतिजा निकाल्न कप्तान तथा फास्टबलर सोमपालको भूमिका धेरै देखिन्छ । कर्णालीमा आबद्ध स्वदेशी खेलाडीमध्ये उनी सबैभन्दा अनुभव खेलाडी हुन् । चालू एनपिएलमा कर्णालीले तीन खेल खेल्दा सोमपाल विकेटविहीन भएका छैनन् । उनले तीनवटै खेलमा विकेट लिएका छन् । उनले चितवनविरुद्ध ३३ रन खर्चेर दुई विकेट लिए । लुम्बिनीमाथिको जितमा उनले एक विकेट हात पारे । समग्रमा उनले ६ विकेट हात पारेका छन् । विराटनगरको बलियो ब्याटिङ लाइनमाथि सोमपाल हाबी हुन सक्छन् ।