चन्द्रपुरमा ‘डेट एक्सपायर्ड’ भ्याक्सिन भेटिएपछि खोप कार्यक्रम राेकियाे

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

चन्द्रपुर नगरपालिकाले बालबालिकाका लागि लगाउन वितरण गरेको खोपको म्याद गुज्रिएको (डेट एक्स्पायर्ड) पाइएको छ। चन्द्रपुर नगरपालिकाले वडा नम्बर ९ मा पठाएको जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोपको म्याद गुज्रिएको पाइएको हो।

१२ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई लगाइने उक्त खोपको म्याद सकिएको पाइएको वडा नम्बर ९ का वडाध्यक्ष नवराज देवकोटाले बताए। मंगलबार बालबालिकालाई लगाउन ठिक्क पारिएको खोपको म्याद गुज्रिएको पाइएपछि आफूले तत्काल रोकेको वडाध्यक्ष देवकोटाको भनाइ छ। मंगलबार वडा नम्बर ९ को डुमरियालगायतका स्वास्थ्य चौकीहरूमा यो भ्याक्सिन लगाउन बन्द गरिएको हो।

हरेक महिनाको १८ गतेदेखि २२ गतेसम्म बालबालिकालाई यो खोप लगाइँदै आइएको छ। चन्द्रपुर नगरपालिकाका अन्य वडामा समेत म्याद गुज्रिएको भ्याक्सिन पुगेको हुन सक्ने आशंकामा आफूले तत्काल भ्याक्सिन नलगाउन निर्देशन दिएको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बताए।

नगरका विभिन्न वडामा रहेका स्वास्थ्य चौकीहरूमा म्याद गुज्रिएको भ्याक्सिन पठाउने कर्मचारीमाथि कारबाही प्रक्रिया अगाडि बढाउने नगरप्रमुख काफ्लेको भनाइ छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेशकुमार ठाकुरले आफ्नै कमजोरीका कारण स्वास्थ्य चौकीहरूमा म्याद गुज्रिएको भ्याक्सिन पुगेको स्विकारे। यस्तो गम्भीर विषयमा हेलचेक्र्याइँ गरेकाले स्वास्थ्य शाखा प्रमुख ठाकुरमाथि पनि कारबाहीको प्रक्रिया अघि बढाउने नगरप्रमुख काफ्लेले प्रस्ट पारे।

चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर अभिनन्दन श्रीवास्तवले स्वास्थ्य कर्मचारीहरूको लापरबाहीका कारण विभिन्न वडामा म्याद गुज्रिएको भ्याक्सिन पुगेको बताए। लापरबाही गर्ने स्वास्थ्य कर्मचारी उपर विभागीय कारबाही गर्ने तयारी गरेको श्रीवास्तवले जानकारी दिए।

सुझावित समाचार