एरिका कराँते विश्व च्याम्पियनसिपका लागि छनोट

बुधबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण
  • विश्व कराँते महासंघको युनिभर्सालिटी कोटाको माध्यमबाट नेपालकी एरिका गुरुङले इजिप्टको कायरोमा हुने कराँते विश्व च्याम्पियनसिपमा स्थान बनाइन्

नेपाली महिला कराँते खेलाडी एरिका गुरुङ इजिप्टको कायरोमा ११–१४ मंसिरसम्म हुने कराँते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छिन् । गत साता फ्रान्सको पेरिसमा भएको कराँते विश्व च्याम्पियनसिप क्वालिफायरमा निर्णायक खेलमा चुक्दा गुरुङ छनोट चरण पार गर्न सकेकी थिइनन् । जसका कारण उनले छनोट चरणको माध्यमबाट कराँते विश्व च्याम्पियसिपमा स्थान बनाउन नसकेकी थिइनन् । तर, एरिकाले युनिभर्सालिटी कोटामार्फत विश्व च्याम्पियनसिपमा स्थान बनाएको नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिएका छन् ।

विश्व कराँते फेडेरेसन (डब्लुकेएफ)ले नेपाल कराँते महासंघलाई पत्र लेख्दै एरिका युनिभर्सालिटी कोटामार्फत कराँते विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको लामाले बताए । उनका उनका अनुसार अब महासंघले एरिकाको सहभागिता पक्का हुने निर्णय पठाउनुपर्नेछ । कराँते विश्व च्याम्पियनसिप कराँतेको सबैभन्दा ठुलो प्रतियोगिता हो । यहाँ विश्वका उत्कृष्ट ३२ जना खेलाडीले प्रतिस्पर्धा गर्छन् ।

एरिकाले यसअघि मोरोक्कोमा भएको कराँते वान प्रिमियर लिग खेल्दै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पहिलो सहभागितामै कराँते वान प्रिमियर लिगमा जितेको उक्त पदक एरिकाले जितेको ठुलो पदक हो । यसअघि नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले कराँते विश्व च्याम्पियनसिप खेल्ने पक्का गरेकी थिइन् । उनी वरीयताका आधारमा छनोट चरण नखेली सीधै विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् ।

पेरिसमा नेपालबाट चार खेलाडीले क्वालिफायरमा प्रतिस्पर्धा गरेका थिए । महिला ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी एरिकाले सुरुका तीनवटै खेल जितेकी थिइन् । उनी समूह विजेताकी रूपमा नकआउट चरणमा प्रवेश गरेकी थिइन् । तर, निर्णायक खेलमा एरिका अस्ट्रियाकी खेलाडी लोारा जिलरसँग ५–२ ले पराजित हुँदा प्रतियोगिताबाट बाहिरिइन् । लोरालाई हराउँदा एरिकाले कराँते विश्व च्याम्पियनसिपमा स्थान बनाउने थिइन् । छनोट चरणबाट नभए पनि वरीयताका आधारमा भने उनले कराँते विश्व च्याम्पियनसिपमा स्थान उनले सुरक्षित गरेकी छिन् । छनोट प्रतियोगितामा नेपालबाट महिला ५० केजीमुनि तौलमा वर्षा बुढामगर र पुरुष एकल कातामा स्वनिम मानन्धर पहिलो चरणबाट बाहिरिएका थिए ।

प्रिमियर लिगमा कांस्य पदक
पछिल्लो समयमा एरिकाले अन्तर्राष्ट्रिय कराँते एरिनामा उत्कृष्ट प्रदर्शनसँगै राष्ट्रलाई ऐतिहासिक पदकसमेत दिलाइरहेकी छिन् । उनले गत १९ जेठमा विश्वकै प्रतिष्ठित कराँते वान प्रिमियर लिगमा नेपाललाई कांस्य पदक दिलाएकी थिइन् ।

एरिकाले ६८ केजीमाथी तौल समूहमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले हराउँदै कांस्य जितेकी थिइन् । प्रतियोगिताको सेमिफाइनलमा स्पेनिस खेलाडीसँग अंक बराबरी भए पनि एरिका सेन्सुका आधारमा पराजित भएकी थिइन् । त्यसपछि उनी कांस्यका लागि पुन: प्रतिस्पर्धामा उत्रिइन् । विश्व कराँते महासंघले जारी गरेको शीर्ष ३२ खेलाडीबिच मात्र प्रिमियर लिग हुने गर्छ । यस प्रतियोगितामा सहभागी हुने एरिका पहिलो नेपाली खेलाडी हुन् । उनले दुई वर्षअघि चीनको हाङझाउमा भएको १९औँ एसियाडमा नेपाललाई रजत दिलाएकी थिइन् ।

एरिका नगदसहित सम्मानित
नेपाल सितोरियो कराँते संघले मंगलबार एरिका र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज ‘ए’मा स्वर्ण पदक जितेपछि एरिकालाई एक लाख र कुशललाई ५० हजार नगद र सम्मान गरेको हो । महासंघका अध्यक्ष लामा, नेपाल सितोरियो कराँते संघका अध्यक्ष धावा गुरुङलगायतले दुई जनालाई सम्मानित गरेका हुन् । 
 

See More On

सुझावित समाचार