विश्वप्रकाश शर्माले भने– जेन–जी आन्दोलनमा युवाहरूले ज्यान गुमाएको पीडा बोकेर टीका लगाउन सकिएन

बिहिबार, ६ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा युवाहरूको ज्यान जोगाउन नसकेको र देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर तिहार मनाउन नसकेको भन्दै शुभचिन्तकसँग माफी मागेका छन् ।

सामाजिक सञ्जालमार्फत शर्माले आफूलाई निरन्तर टेलिफोनमा देउसी, भैलो, भाइटीकाबारे प्रश्न आइरहेको भए पनि तिहार मनाउन नसकेको उल्लेख गरेका छन् ।

‘केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु- यसपालि देउसीमा घरको–आँगनमा स्वागत गर्न सकेनौँ, क्षमा पाऊँ,’ महामन्त्री शर्माले भनेका छन्, ‘दसैँको टीका र तिहारको भाइटीका लगाइएन यसपालि । भदौ २३ को  प्रदर्शनमा त्यत्तिका अमूल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन ।’

उनले यसअघिका वर्षमा झापाको मेचीनगरस्थित धुलाबारीको आँगनमा खेल्ने गरिएको देउसी स्मरण गरे । तर, यसपटक भने आफ्नै मनले त्यस्तो गर्न नमानेको अनुभूति उनले स्मरण गरेका छन् । ‘तर, यसपालि मनले त्यो मागेन, मानेन, खोजेन,’ उनले भनेका छन्, ‘आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन ।’ उनले थप अपेक्षा राख्दै भनेका छन्, ‘हामी सबै बदलिनेछौँ र समाज बदल्नेछौँ । बदलाको भाव, वैरभाव कसैप्रति पनि नराखौँ । यही नै हाम्रा धर्मशास्त्रहरूको पनि सार हो ।’
 

सुझावित समाचार