चाडपर्वलाई लक्षित गरी हेटौँडालाई काठमाडौसँग जोड्न कान्तिलोकपथ हुँदै चल्ने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनका लागि दुईवटा प्रस्थान विन्दु तोकिएको छ भने प्रवेश समयावधि पनि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार जारी गरेको सूचनाअनुसार असोज ७ गते मंगलबारदेखि कोजागत पूर्णिमा अर्थात् असोज २१ गते मंगलबारसम्म सवारी आवागमनमा नयाँ व्यवस्था लागू हुने भएको हो ।
निर्धारित मापदण्डअनुसार अधिकतम ३० टन भारवहन क्षमता र १० चक्कासम्मका सवारीसाधनले मात्रै कान्तिलोकपथ प्रयोग गर्न पाउने भएका छन् । यी सवारीसाधनले तोकिएको प्रवेश वा प्रस्थान विन्दु बेलुका ९ बजेसम्म अनिवार्य रूपमा पुगिसक्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।
यस अवधिमा कान्तिलोकपथ प्रयोग गर्ने सवारी साधनका लागि दुईवटा प्रवेश विन्दु तोकिएका छन् । मकवानपुरतर्फ बागमती गाउँपालिका– २ बगुवा र ललितपुरतर्फ गोदावरी नगरपालिका– ६ टीकाभैरव प्रवेश विन्दु कायम गरिएको हो । प्रशासनका अनुसार चाडबाडमा देखिने भिडभाडलाई व्यवस्थित गर्न र दुर्घटनाको सम्भावना न्यूनीकरण गर्न यो व्यवस्था लागू गरिएको हो ।