ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२, सान्थाक्रामा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु भएको छ। १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको आइतबार दिउँसो २ बजे सान्थाक्रा प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको हो।
स्थानीय सञ्चवीर लिम्बूका अनुसार शनिबार बिहान करिब ७ बजे पेम्बा साङ्बु शेर्पा र १४ वर्षीय पेम्बा शेर्पाले गुलेली प्रयोग गरी कालो प्रजातिको अरिंगाललाई हानेका थिए। त्यस क्रममा अरिंगालले दुवैजनालाई टोकेको थियो।
अरिंगालको टोकाइबाट पेम्बा साङ्बुलाई शरीरका विभिन्न भागमा ४५ भन्दा बढी ठाउँमा टोकेको थियो भने पेम्बा शेर्पालाई पाँच ठाउँमा टोकेको जनाइएको थियो। घाइतेको अवस्था सामान्य रहेको र उनी भने भागेर ज्यान बचाउन सफल भएको स्थानीयले बताएका छन्। हालसम्म घटनाबारे प्रहरीलाई औपचारिक जानकारी नगराइएको स्थानीय लिम्बूले बताएका छन्।