वडा नं. ६ ले जित्यो बनेपा मेयर कप फुटबलको उपाधि

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ। सोमबार भएको फाइनल खेलमा वडा नम्बर १४ लाई १–० ले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि जितेको हो। 

बनेपा नगरपालिकाको आयोजना तथा वडा नम्बर ९ को संयोजनमा भएको प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर १४ को फाइनल खेलमा वडा नम्बर ६ का खेलाडी पारस नेपालले गोल गरेका थिए। त्यही गोलले वडा नम्बर ६ लाई विजयी बनाएको छ।

बनेपा नगरपालिका वडा नम्बर १४ उपविजेतामा सीमित बनेको छ। विजेता बनेका वडा नम्बर ६ ले नगद एक लाख पाँच हजारसहित सिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्। त्यसरी नै उपविजेता वडा नम्बर १४ ले नगद ५५ हजारसहित सिल्ड, प्रमाणपत्र र सिल्ड प्राप्त गरेका छन्।

वडा नम्बर ६ लाई विजयी बनाउन सफल गोलर पारस नेपाल म्यान अफ द म्याच भएका छन्। प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि वडा नम्बर १४ का वीरेन्द्र थापाले प्राप्त गरे भने बेस्ट डिफेन्सको उपाधि वडा नम्बर ११ का प्रभात बोगटी, बेस्ट मिडफिल्डर वडा नम्बर ९ का पुनम आलेमगर, इमर्जिङ प्लेयर वडा नम्बर ६ का फुमी केसी र बेस्ट किपरको उपाधि वडा नम्बर ६ कै सौगात खत्रीले प्राप्त गरे। यस्तै, हाइस्कोररको पुरस्कार रोहन शाही र सुजल राजबाहकले प्राप्त गरे। दुवैले प्रतियोगितामा २–२ गोल गरेका थिए।
प्रतियोगिताका विजयी टिम, खेलाडी र प्रशिक्षकलाई नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा र वडा नम्बर ९ की कार्यबाहक वडाध्यक्ष मनीषा तामाङले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेकी थिइन्।

उक्त प्रतियोगितामा बनेपा फुटबल एकेडेमी, बनेपा पोलिटेक्निक फुटबल मैदान संरक्षण उपभोक्ता समिति, काभ्रे जिल्ला फुटबल संघ, माउन्ट एभरेस्ट फुटबल क्लब, शिर मेमोरियल अस्पताललगायतले प्राविधिक सहयोग गरेका थिए।

सुझावित समाचार