कोशी प्रदेश प्रिमियर लिगः सम्राट स्पोर्टिङ र धाइजन चारआली समूहको शीर्षमा

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण

धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा मोरङको सम्राट स्पोर्टिङ क्लब र धाइजन चारआली फुटबल क्लब विजयी हुँदै समूहको शीर्ष स्थानमा उक्लिएका छन् । मंगलबार धरान रंगशालामा भएको पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई ५–१ ले पराजित गर्दै सम्राट स्पोर्टिङ क्लब मोरङ ३ अंकसहित समूह बीको शीर्ष स्थानमा पुगेको हो। 

सम्राट स्पोर्टिङका लागि हरि खवासले ह्याट्रिक गरे। उनले खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पनि प्राप्त गरे। 

यस्तै, डेबिट मगर र अंकित लिम्बूले थप गोल गर्दै सम्राट स्पोर्टिङलाई ५–१ को फराकिलो जित दिलाए। भोजपुरका लागि सुसन तामाङले एक गोल फर्काएका थिए।

समान तीन अंक भएको गाईघाट फुटबल क्लब गोल संख्याको आधारमा दोस्रो स्थानमा रहेको छ। समूह विजेताको टुंगो लगाउन बुधबार सम्राट स्पोर्टिङ र गाईघाटबिच समूह बीको अन्तिम खेल हुनेछ। भोजपुर भने लिगको दुवै खेलमा पराजित हुँदै घर फर्किएको छ। 

मंगलबार नै भएको दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गर्दै झापाको धाइजन चारआली फुटबल क्लब ३ अंकसहित समूह सीको शीर्ष स्थानमा रहन सफल भएको छ। धाइजनका लागि सागर रसाइलीले दुई गोल गरेका थिए भने निश्चल बस्नेतले एक गोल थपेका थिए। सागर रसाइली खेलको म्यान अफ द म्याचसमेत घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे।  

बुधबार समुह डीअन्तर्गत ताप्लेजुङको प्रगतिशील युथ क्लब र खोटाङको बुइपा–११ बिच पहिलो खेल हुने र समूह बीअन्तर्गत उदयपुरको गाईघाट फुटबल क्लब र मोरङको सम्राट स्पोर्टिङ क्लबबिच दोस्रो खेल हुने आयोजकले जानकारी दिएको छ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा ८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता रहेको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए। ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई चार समूहमा विभाजन गरिएको छ। समूह विजेताहरूले लिगको उपाधिका लागि पुनः खेल्नेछन्।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनोटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनोट हुनेछन्। लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
 

सुझावित समाचार