विराटनगर ब्यान्डिन्ट्सले नेपाल कबड्डी लिग (एनकेएल)अन्तर्गत प्रतिस्पर्धात्मक खेलमा काठमाडौं माभरिक्सलाई ४४–४३ को झिनो अन्तरमा हराएको छ । राखेपको कभर्ड हलमा भइरहेको लिगमा विराटनगरले लगातार दोस्रो जित निकाल्दै १० अंक बनाएको छ । पहिलो खेलमा विराटनगरले धनगढी वाइल्ड कमयाट्सलाई हराएको थियो । काठमाडौंको यो पहिलो हार हो । यसअघि पहिलो खेलमा काठमाडौंले पोखरा लेकर्सलाई हराएको थियो । काठमाडौंले दुई खेलबाट ६ अंक बनाएको छ ।
विराटनगरले उत्कृष्ट सुरुवात गर्दै ६–२ को अग्रता लियो । काठमाडौंलाई पहिलोपटक अलआउट गर्दै विराटनगरले १०–२ को अग्रता बनाएको थियो । उत्कृष्ट तालमेलका साथ प्रतिस्पर्धा गरेको विराटनगरले काठमाडौंलाई दोस्रोपटक अलआउट गर्दै १६–४ को अग्रता लियो । दुईपटक अलआउट भएको काठमाडौंले त्यसपछि उत्कृष्ट पुनरामगन गरेको थियो । कप्तान तथा मार्की घनश्याम रोक्का मगरको प्रेरणादायी प्रदर्शनपछि काठमाडौंले लगातार १० स्कोर गरेको थियो । घनश्यामले सुपर रेडमा ३ अंक बटुले । उनकै प्रदर्शनमा काठमाडौंले पहिलोपटक विराटनगरलाई अलआउट ग¥यो । घनश्यामले अर्को सुपर रेडमा काठमाडौंलाई थप ३ अंक दिलाए ।
दोस्रो हाफ रोमाञ्चक
पहिलो हाफ सकिँदा विराटनगर २६–१९ ले अघि रह्यो । दुई टोलीबिच दोस्रो हाफ प्रतिस्पर्धात्मक बनेको थियो । काठमाडौंका घनश्याम दोस्रो हाफको सुरुमा कोर्टमा उत्रेनन् । विराटनगरले काठमाडौंका मार्की तथा मुख्य खेलाडी नभएको फाइदा भरपुर लियो । विराटनगरले आफ्नो अग्रतालाई अन्तिमसम्म रक्षा गरेको थियो । खेल सकिन नौ मिनेट बाँकी छँदा घनश्याम कोर्ट प्रवेश गरेका थिए । उनले विराटनगरलाई अलआउट गर्दा खेल ३६–३३ को स्थितिमा थियो । यस अवस्थामा काठमाडौं ३ अंकले पछि थियो । अन्तिम ५२ सेकेन्ड बाँकी रहँदा घनश्यामले महŒवपूर्ण २ अंक बटुल्दा खेल ४१–४१ को बराबरीमा पुग्यो । विराटनगरका नोफादोनले सुपर रेडबाट ३ स्कोर गर्दा विराटनगर ४४–४२ ले अघि बढ्यो ।
भारतीय प्रो कबड्डी लिगमा आबद्ध काठमाडौंका घनश्यामले सर्वाधिक २८ स्कोर गरे । उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । उनले टचबाट २३ र बोनसबाट ५ स्कोर गरेका थिए । विराटनगरका लागि नोफादोनले टचबाट १४ र बोनसबाट ९ गरी २३ स्कोर गरेका थिए । विराटनगरले रेडबाट २८, ट्याकलबाट १२ र अल आउटबाट ४ स्कोर गरेको थियो । काठमाडौंले रेडबाट सर्वाधिक ३६ स्कोर ग¥यो । यस टोलीले ट्याकलबाट ३ र अल आउटबाट ४ स्कोर गरेको थियो ।