विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा यू–१६ युथ लिगमा लज्जास्पद सुरुवात गरेको छ । टोलीले बुधबारसम्म दुई खेल खेल्दा १७ गोल व्यहोरेको छ । इशान तामाङको कप्तानीमा रहेको आर्मीले एक गोल पनि फर्काउन सकेन । दोस्रो खेलमा आर्मी थ्री स्टार क्लबसँग १०–० ले पराजित भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरे । पूर्ण श्रेष्ठले दुई तथा भूपेन्द्रबहादुर रावत र जोङसन खेन्चो काजीले समान एक गोल थपे ।
जितसँगै थ्री स्टारले दुई खेलबाट ४ अंक जोडेको छ । चक्र तामाङको प्रशिक्षणमा रहेको आर्मीले दुवै खेलमा पराजित हुँदा अंक जोड्न सकेन । पहिलो खेलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–० को हार व्यहोरेको थियो । थ्री स्टार भने अर्काे विभागीय टोली एपिएफसँग गोलरिहत बराबरीमा रोकिएको छ ।
दिनको अर्काे खेलमा सातदोबाटो युथ क्लबलाई २–१ ले हराउँदै एपिएफ क्लबले पहिलो जित निकालेको छ । एपिएफको जितमा अभिनाश वाइबा र तेन्जिङ शेर्पाले गोल गरेका थिए ।
सिर्जन र रोहनको ह्याट्रिक
थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरेका थिए । सिर्जनले खेलको ७८, ८८ र इन्जुरी समयमा गोल गरेका हुन् । २३औँ मिनेटमा मैदान प्रवेश गरेका रोहनले ७०, ७५ र ८६औँ मिनेटमा गरी ह्याट्रिक पूरा गरेका हुन् । खेलको १०औँ मिनेटमा भूपेन्द्रको गोलमार्फत थ्री स्टारले अग्रता लियो । २३औँ मिनेटमा जोङसनले पेनाल्टीमार्फत २–० ले अग्रता दोब्बर बनाए । पूर्णले ४४ र ६६औँ मिनेटमा गोल गर्दा थ्री स्टार पहिलो हाफमै ४–० ले अगाडि बढ्यो । रोहनले ७० र ७५ औँ मिनेटमा गोल थप्दा थ्री स्टारको अग्रता ६–० मा पुग्यो । सिर्जनले ७८औँ मिनेटमा टोलीका लागि सातौँ गोल गरे । आठ मिनेटपछि रोहनले ह्याट्रिक पूरा गर्दै थ्री स्टालाई ८–० को फराकिलो अग्रता दिलाएका हुन् । सिर्जनले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै थ्री स्टारलाई १०–० को सानदार जित दिलाए ।