पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई एन्फाले आठ–आठ लाख राहत दिने

छानबिन प्रतिवेदन बनाउन तीन सदस्यीय समिति गठन, मृतक खेलाडीको नाममा प्रतियोगिता सञ्चालन गरिने

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघले गत १२ असोजमा पहिरोमा पुरिएर मृत्यु भएका एन्फा बात्सल्यदेवी एकेडेमीका ६ खेलाडीहरूको परिवारलाई आठ–आठ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको आपतकालीन बैठकले यस्तो निर्णय गरेको हो। बैठकले घटनाको सत्यतथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन एक महिनाभित्र पेस गर्न तीनसदस्यीय समिति पनि गठन गरेको छ। 

एन्फा केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई सदस्य छन्।

बैठकले दिवंगत प्रत्येक खेलाडीको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षय कोष खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकलाई सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।

यस्तै, एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई स्वर्गीय ६ खेलाडीहरूको स्मृतिमा सञ्चालन गर्ने तथा वात्सल्यदेवी माविमा पहल गरी विद्यालयपरिसरमा दिवंगत खेलाडीहरूको सालिक वा स्मृति स्तम्भ निर्माण गराउने निर्णय गरेको छ।

पीडित परिवारलाई थप राहतको लागि फिफा र एएफसीलाई अनुरोध गर्ने निर्णयसमेत भएको अध्यक्ष नेम्वाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। 
भारी वर्षाको कारण आएको पहिरोमा पुरिएर गत १२ असोजमा आदित्य बलम्पाकी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको मृत्यु भएको थियो।


समिति गठनमा वरिष्ठ उपाध्यक्षको असहमति
यसैबिच, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले घटनाको सत्यतथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन पेस गर्न बनाएको समितिमा असहमति जनाएका छन्।

उनले एन्फा र व्यवस्थापन समितिको लापरबाहीको कारण घटना भएको भनी सार्वजनिकस्तरमै प्रश्न उठिरहेका वेला छानबिन गर्नुपर्ने व्यक्तिलाई नै समितिमा राखिएकोमा आपत्ति जनाउँदै निर्णयमा असहमति व्यक्त गरेका हुन्। 

एन्फाको आपतकालीन बैठकपछि विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष खड्काले घटनाको छानबिन गर्न संसदीय समितिसमेत गठन भइसकेको अवस्थामा प्रतिवेदन लेख्न बनाइएको समितिको औचित्य नरहेको जिकिर गरेका छन्।

सुझावित समाचार