एनओसीले मान्यता नदिएको टेबुलटेनिसमा हमाल निर्विरोध

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण
एनओसीले मान्यता नदिएको टेबुलटेनिसमा हमाल निर्विरोध

टेबुलटेनिस संघको साधारणसभाको उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारणसभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । तर, यही कार्यसमितिलाई अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल ओलम्पिक कमिटीले स्वीकार गरेको छैन । लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा भएको साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए । तर, निर्वाचन संघको स्वायत्तताको नीति र प्रक्रियाअनुसार नदेखिएको भन्दै एनओसीले आफ्नो प्रतिनिधि नै निर्वाचनमा पठाएन । 

यसअघि टेबल टेनिसका पूर्र्वअध्यक्ष तथा तदर्थ समितिका अध्यक्ष चतुरानन्द राजवैद्य, वरिष्ठ सहसंयोजक सुदिल शाहीसहित २३ बहुमत सदस्यले यथास्थितिमा साधारणसभा तथा निर्वाचत गर्न नसकिने भन्दै राखेपका सदस्यसचिवलाई हस्ताक्षरसहित पत्र लेखेका थिए । त्यसपछि एनओसीले आफ्नै उपाध्यक्ष राजवैद्यलाई साथ दिँदै प्रतिनिधि पठाएन । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ छन् । महासचिवमा कुवेरप्रकाश सिंह, सचिवमा प्रज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन रहे । शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, ऋषिराज लहरे, नवीनबहादुर सिंह र सन्तोषकुमार पौडेल सदस्यमा चयन भएका छन् । सदस्यसचिव घिसिङले नयाँ कार्यसमितिलाई चार वर्षका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्न जोड दिएका छन् ।

पौडीले अझै अन्तर्राष्ट्रिय मान्यता पाएन
एनओसीको यो निर्णयसँगै टेबुलटेनिसको निर्वाचन विवादमा परेको छ । यो निर्वाचित कार्यसमितिलाई एनओसीले स्वीकार नगर्ने प्रस्ट छ । यसअघि पौडी संघको निर्वाचनबाट निर्वाचित जगतमान श्रेष्ठलाई पनि ओलम्पिक कमिटीले मान्यता दिएको छैन । राखेपले गराएको निर्वाचनबाट ४२ वर्ष पौडी संघमा रहेका अशोकरत्न बज्राचार्यले नाम फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । यस निर्वाचनमा भने एनओसीले आफ्नो प्रतिनिधि पनि पठाएको थियो । 

सुझावित समाचार