फ्रान्समा जारी पेरिस ओलम्पिक २०२४ को १४औँ दिन अंक–तालिकामा अमेरिका शीर्ष स्थानमै रहेको छ।
२७ स्वर्ण, २५ रजत र ३२ कांस्य गरी ९४ पदकसहित अमेरिका शीर्ष स्थानमा रहेको हो। चीन २५ स्वर्णसहित दोस्रो स्थानमा छ।
चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
चीनले २३ रजत र १७ कांस्य पनि जितेको छ। तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४१ पदक जितिसकेको छ।
फ्रान्स १३ स्वर्ण, १७ रजत र २१ कांस्यसहित ५१ पदक जितेर चौथो स्थानमा रहेको छ भने पाँचौँ स्थानमा रहेको बेलायतले १२ स्वर्ण, १७ रजत र २० कांस्यसहित ४९ पदक जितिसकेको छ।
पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कांस्य जितिसकेको छ। जापान १२ स्वर्ण, ६ रजत र १३ कांस्यसहित सातौँ, इटाली नौ स्वर्ण, १० रजत र आठ कांस्यसहित आठौँ, नेदरल्यान्ड नौ स्वर्ण, पाँच रजत र ६ कांस्यसहित नवौँ तथा जर्मनी आठ स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित दसौँ स्थानमा रहेको छ।
क्यानडा ११औँ, आयरल्यान्ड १२औँ, न्युजिल्यान्ड १३औँ, रोमानिया १४औँ र हंगेरी १५औँ स्थानमा रहेका छन्। सात खेलमा सहभागी नेपालले पदकविहीन हुँदै प्रतिस्पर्धाको यात्रा अन्त्य गरिसकेको छ।