सहजा खोलामा पुल निर्माण गर्न आलटाल

सदरमुकामकाे ७ किलोमिटर यात्रालाई ५५ किलोमिटर घुम्न बाध्य

आइतबार, ३० असार, २०८१
डिजिटल संस्करण

हुलाकी राजमार्गअन्तर्गत सिराहाको औरही र अर्नमा गाउँपालिका जोड्ने सहजा खोलाको पुल निर्माण सुस्त हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन्। अविरल वर्षाका कारण आएको बाढीले पुल निर्माणका लागि दक्षिणपट्टि बनाइएको डाइभर्सन बगाएपछि नजिकै रहेको सिराहा अस्पतालसम्म बिरामी पुर्याउनसमेत कठिन भएको स्थानीयको गुनासो छ।

बाढीले डाइभर्सन बगाएपछि हलुका सवारीसाधनको आवतजावतसमेत ठप्प हुँदा औरही, बरियारपट्टि, जिरोमाइल, गोलबजार, चोहर्वा हुँदै सिराहासम्म पुग्न ५५ किलोमिटरको दूरी छिचोल्न बाध्य भएको औरही– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले बताए। जब कि सहजामा पुल बन्दा करिब सात किलोमिटरको यात्रामै सदरमुकाम पुगिन्छ।

पैदल यात्रु र मोटरसाइकलसम्मका लागि स्थानीय युवाहरूले मोटो प्लाइबोर्ड र जस्ता हालेर अस्थायी बाटो बनाएको भए पनि बिरामी बोक्ने एम्बुलेन्स वारपार हुन नसक्दा तत्काल अस्पताल पुर्याउनुपर्ने प्रसूति, सर्पदंश, उच्च रक्तचापका बिरामीको जीवन नै जोखिममा परिरहेको वडाध्यक्ष यादवले बताए।

डाइभर्सन बाढीले बगाएपछि सिराहा–राजविराजसम्म चल्ने सवारीसाधनहरूको आवागमन बन्द भएको छ भने औरही, बरियारपट्टी, नवराजपुर, भगवानपुरसहितका पालिकाकाको सिराहा सदरमुकामसँगको सम्पर्क विच्छेद भएको छ। 

सम्झौता पाँच महिना बाँकी, काम ४० प्रतिशत
सम्झौता सकिन पाँच महिना मात्रै बाँकी रहेको सहजा खोलाको पुल निर्माण गर्न ठेकेदार कम्पनीले आलटाल गर्दा स्थानीयले सास्ती झेल्नुपरेको हो। हुलाकी राजमार्ग दुई लेनमा विस्तार भएसँगै बलान–कमला सडकअन्तर्गत औरहीको इँटाटार गाउँदेखि पश्चिमपट्टि सहजामा रहेको पुरानो पुल भत्काएर दक्षिणपट्टिको डाइभर्सनबाट बनाइएको भए पनि बाढीले बगाएपछि समस्या भएको स्थानीय युवा मनोज पासवानले बताए।

कुल २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको सहजाको आरसिसी पुल निर्माण कार्य ४० प्रतिशत सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयबाट पुल निर्माणको रेखदेखका लागि खटिएका इन्जिनियर कौशल यादवले बताए। १६ मंसिर ०७९ मा दुई वर्षमा निर्माण सक्ने गरी जनकपुरस्थित सुगम निर्माण सेवाले सम्झौता गरेपछि पेटी ठेकेदारको रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिएको छ। सम्झौता भएको १९ महिनाको अवधिमा पुलको दुईवटा पाइलको ढलान गरेर वैशाखको अन्तिमतिर हिँडेका पेटी ठेकेदार फर्केर नआएको वडाध्यक्ष यादवको गुनासो छ। 

सुगमले औरही गाउँपालिका– १ दरैहिया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट र सहजाको पुल गरी भ्याटसहित ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का पाएको हो। उक्त ठेक्का रकमको मोबिलाइजेसनबापत पाँच प्रतिशत र गरिएको कामबापत भ्याटसहित तीन करोड ४० लाख ७३ हजार दुई सय ५० रुपैयाँ एक पैसा भुक्तानी लिइसकेको छ।

सहजा पुलको ठेक्का सम्झौताअन्तर्गत समावेश भएको हुलाकी सडकमा पर्ने औरही गाउँपालिका– १ दरहैया चोकसँगै पश्चिमपट्टि रहेको लचकामा बनाइनुपर्ने बक्स कल्भर्टको त झन् काम नै सुरसार भएको छैन। बक्स कल्भर्ट बन्छ भन्ने सुनेको भए पनि अहिलेसम्म कुनै निर्माण सामग्री नल्याइएको र ठेकेदार कम्पनीका मान्छे पनि नआएको स्थानीय महेशप्रसाद यादवले बताए।

सुझावित समाचार