बाढीपहिरो प्रभावितको उद्धार र राहत व्यवस्थित गर्न बानियाँको आग्रह

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत वितरण कार्य व्यवस्थित गर्न आग्रह गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति बानियाँले विपत् प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतको कार्यलाई व्यवस्थित गर्न आग्रह गरेका हुन्। उनले बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारहरूले आवश्यक समन्वय र योजनाका साथ ध्यानकेन्द्रित गर्नुपर्नेमा पनि जोड दिएका छन्।

बाढीपहिरोबाट सम्पर्कविहीन भएकाहरूको खोजी, पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूलाई उपचारको व्यवस्था गरेर नागरिकले सहज जीवनयापन गर्न सक्ने व्यवस्था मिलाउन सभापति बानियाँले विज्ञप्तिमार्फत आग्रह गरेका हुन्।

उनले कांग्रेसका नेता, कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यहरूलाई समेत आ–आफ्नोतर्फबाट आवश्यक जिम्मेवारी बहन गर्न निर्देशनसमेत दिएका छन्। उनले आफूअनुकूल प्रभावित जिल्लाका सम्पूर्ण स्थानमा पुगेर उद्धार तथा राहतमा खटिएका सरकारी संयन्त्रलाई सहयोग पुर्याउन भनेका छन्।

गत २८ जेठदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढीपहिरोजस्ता प्राकृतिक विपतमा परी बागमती प्रदेशमा चारजनासहित देशभर एक सय तीनजनाको ज्यान गएको छ भने एक सय नौजना घाइते भएका छन्। बागमती प्रदेशमा दुईसहित देशभर ६ जना हराइरहेका छन्।
 

सुझावित समाचार