युरो २०२४ : नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

बुधबार, १९ असार, २०८१
डिजिटल संस्करण

डोएल मालेनको दुई गोलको सहयोगमा रोमानियालाई ३–० ले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो

नेदरल्यान्ड्सले युरो २०२४ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । प्रतियोगिताको सोमबार राति रोमानियामाथि ३–० को सादार जित निकाली नेदरल्यान्ड्सले अन्तिम आठको स्थान पक्का गरेको हो । अब सेमिफाइनल प्रवेशको खेलमा नेदरल्यान्ड्सले अस्ट्रिया र टर्कीबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्सले पहिलोमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । रोमानिया १६ वर्षपछि प्रिक्वार्टरफाइनलमा पुगेको हो । 

आक्रामक रूपमा प्रस्तुत भएको नेदरल्यान्ड्सले रोमानियालाई खेलको कुनै पनि समयम आफूमाथि हाबी हुन दिएन । खेलको २०औँ मिनेटमा लिभरपुलका खेलाडी कोडी गाक्पोले सिमोन्सको पासमा नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाए । रोमानियाका गोलरक्षक फलोरिनलाई झुक्याउ्ँदै टोलीलाई अग्रता दिलाएका हुन् । चालू प्रतियोगितामा कोडीको तेस्रो गोल हो । खेलको २७औँ मिनेटमा कर्नर किकमा स्टेफानो डे भजको प्रहार क्रसबार नजिक हुँदै बाहिरिएको थियो । 

मध्यान्तरपछि नेदरल्यान्ड्स थप आक्रामक रूपमा प्रस्तुत भयो । यस समयमा नेदरल्यान्ड्सको एक गोल अफ साइड भएको थियो । खेलको ८२औँ मिनेटमा डोएल मालेनले नेदरल्यान्ड्सलाई २–० को स्थितिमा राखे । कोडी गाक्पोले चलाखीपूर्ण रूपमा लाइनबाट मालेनलाई सटिक पास दिएका थिए । मालेनले वान टचमै गोल गरे । यसअघि खेलको ६२औँ मिनेटमा काक्पोले क्लोज रेन्जमा गोल गर्न चुकेका थिए । 

अन्तिम इन्जुरी समयको तेस्रो मिनेटमा मालेनले काउन्टर एट्याक्समा नेदरयान्ड्सको जित ३–० को पक्का पारे । नेदरल्यान्ड्सले चालू युरो २०२४ मा रोमानियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

सुझावित समाचार