भारतको सिलगुडीमा हालै सम्पन्न प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा बाराको निजगढ नगरपालिकाका चारजना खेलाडीले स्वर्ण पदक जितेका छन्।
प्रतियोगितामा निजगढ ९ स्थित जनज्योति आधारभूत विद्यालय तेक्वाण्डो डोजाङ्गका खेलाडीहरु सृजला कार्की, शेख नदीम हुसेन, सचिन योञ्जन र रेविक माझीले स्वर्ण पदक जितेका हुन्।
कार्कीले महिलातर्फ ३७ केजी, नदिमले ४५ केजी, योञ्जन ४८ र माझीले २१ केजी समुहमा स्वर्ण जितेका हुन्। सृजला, नदिम र सचिन निजगढ ८ स्थित गौरीशंकर मावि निजगढमा अध्ययन गर्ने विद्यार्थी हुन भने वर्ष ६ कि रेविक निजगढ ७ स्थित विद्यासागर बोडिङ्ग स्कुलको कक्षा १ मा अध्ययनरत छन्।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका जनज्योति डोजाङ्गका सबै खेलाडीले स्वर्ण पदक हात पारेको डोजाङ्ग प्रमुख एवंम टिम कोच राजु माझीले जानकारी दिए।
भारतको सिलगुडीमा गत जुलाई २८ तारिकदेखि ३० तारिकसम्म भएको प्रतियोगितामा नेपालका विभिन्न डोजाङ्गका खेलाडीसहित भारत, बंगलादेश र भुटानका खेलाडीहरुको सहभागिता रहेको टिम कोच माझीले जानकारी दिए।
निजगढका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सो सफलता उत्साहाजन भएको तेक्वाण्डो प्रशिक्षक एवंम जिल्ला खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठ बताए।
उनले निजगढमा प्रतिभाशाली र सम्भावना बोकेका खेलाडीहरु रहेकाले उनीहरुको मनोवल र क्षमतामा थप विकासको लागि स्थानीय तहसहित विभिन्न संघसंस्था र खेलप्रेमीहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ।