‘सीधा कुरा’को मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

युट्युब तथा अनलाइनमा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश र न्यायाधीशसमेतको मुद्दामा अब बृहत् पूर्ण इजलासले फैसला गर्ने भएको छ । बुधबार सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २२ (२) (च) अनुसार पेसी व्यवस्थापन निर्देशन समितिसमक्ष अवहेलना मुद्दाको निवेदन पेस गर्ने आदेश भएको हो । सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र विनोद शर्माको इजलासले यस्तो आदेश गरेको हो ।

आदेशमा उल्लिखित नियम २२ मा बृहत्पूर्ण इजलासको व्यवस्था छ भने उपनियम (२) (च) ले मुद्दामा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्वको विचार गरी पेसी व्यवस्थापन निर्देशन समितिले बृहत् पूर्ण इजलासमा पेस गर्न मुद्दा वा प्रतिवेदन तोक्न सक्ने व्यवस्था गरेको छ ।

यसअघि अधिवक्ता तोयनाथ ढुंगानाविरुद्ध कान्तिपुर पब्लिकेसनको मुद्दामा गठित इजलास संरचनालाई मध्यनजर गरी संयुक्त इजलासले यस्तो आदेश गरेको जनाएको छ ।

सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले पेस गरेको प्रतिवेदनमा यसअघि सर्वोच्चले कार्यक्रममा प्रसारित सामग्रीको प्राविधिक परीक्षणका लागि सिआइबीको डिजिटल फरेन्सिक ल्याबमा पठाउने आदेश गरेको थियो । 

सुझावित समाचार