सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बागमती युवा क्लब च्याम्पियन र आरसी ३२ फुटबल एकेडेमी उपविजेता बनेका छन् । बुधबारका खेलसँगै ‘सी’ डिभिजन लिग सकिएको छ । मोफसलका दुई क्लब बागमती र आरसीले ‘बी’ डिभिजनमा स्थान बनाएका छन् । २२ चैत ०८० बाट सुरु प्रतियोगितामा मोफसलकै रानीवन स्पोर्टस् क्लब र गोलबजार रेलिगेसनमा परेका छन् । बागमती ‘सी’ डिभिजन उक्लिएको वर्ष नै च्याम्पियन बन्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बागमतीले पुल्चोक स्पोर्टस् क्लबसँग गोलरहित बराबरी खेल्यो । बागमतीले १३ खेलमा सर्वाधिक ३० अंक जोड्यो । बागमतीले १३ खेलमा नौ जित, तीन बराबर र एक खेलमा हार व्यहोरेको छ । क्लबले विपक्षी पोस्टमा २४ गोल गर्दा सात व्यहोरेको छ । पुल्चोकले सामान खेलबाट २२ अंक जोड्दै तेस्रो स्थान रक्षा ग¥यो । अर्काे खेलमा आरसी ३२ सानेपासँग ३–२ ले स्तब्ध बन्यो ।
सानेपाको जितमा सम्भ्रान्तसिंह डंगोल, पेम्बा दोर्जे लामा र खेमराज तामाङले गोल गरेका हुन् । आरसी ३२ का लागि विवेक सन्तोषी र हेमन लिम्बूले गोल गरे । खेलको दशौँ मिनेटमा विवेकले आरसी ३२ लाई अग्रता दिलाए । आरसी ३२ ले अग्रता रक्षा गर्न सकेन । उपविजेता बनेको आरसी ३२ ले १३ मध्ये आठ खेलमा जित, दुई बराबर र तीन हारसहित २६ अंक जोडेको छ । टोलीले २३ गोल गर्दा १४ गोल व्यहोरेको छ ।
नियमविपरीत खेलाडी खेलाएको भन्दै एन्फाले आरसीको दुई खेलबाट ४ अंक खोसेको थियो । कारबाहीमा परेको खेलमा आरसी ३२ ले जित र बराबरी नतिजा निकालेको थियो । आरसीले दार्चुलाको रानीवनविरुद्ध ५–० को फराकिलो जित हात पारेको थियो । आरसी–३२ का प्रशिक्षक गणेश खड्काले योजनाअनुसार दोस्रो डिभिजन लिगमा बढुवा हुन सफल भएको प्रतिक्रिया दिए ।