जलनपीडितलाई बजेटमा अनदेखा गरियो : सांसद कंसाकार

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

रास्वपा सांसद विन्दवासिनी कंसाकारले जलनको दुर्घटनामा परेकाहरूलाई सरकारले अनदेखा गरेको बताएकी छिन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलमा सहभागी सांसद कंसाकारले बजेटमा त्यस्तो अनदेखा प्रस्टिएको बताएकी हुन्।
 
जलनको समस्या सम्बोधन गर्ने काम बजेटले नगरेको भन्दै उनले हजारौँ जलेका नागरिकलाई अनदेखा गरेको गुनासो गरिन्। ‘प्रधानमन्त्रीले सदनमा धेरैपटक जलनका अस्पताल खोल्छु भनेर बोल्नुभयो, तर बजेटमा त्यो प्राथमिकतामा परेन,’ उनले भनिन्। 

उनले यस्ता संवेदनशील विषय बजेटमा समावेश नहुनु लज्जास्पद विषय मात्र नभएको भन्दै अमानवीय क्रियाकलापसमेत भएको जिकिर गरिन्।

सांसद कंसाकारले जलनको दुर्घटनामा परेकाहरूको उपचारमा सरकारले विभेद गरिरहेको भन्दै जलन समस्यालाई पनि क्यान्सर र मिर्गौलापीडितसरह विशेष प्राथमिकतामा राखेर उपचार गर्न माग गरिन्।

‘के यो देशले जलेका व्यक्तिलाई नागरिक गन्दैन ?,’ जलनपीडितसमेत रहेकी सांसद कंसाकारले भनिन्, ‘जलनलाई पनि मिर्गौला र क्यान्सरपीडितसरह राज्यले स्रोतसाधन र अस्पताल बनाओस्।’

सुझावित समाचार