अस्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

अस्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टी–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्ट इन्डिजको सरभिभियन रिचर्डस् रंगशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’मा रहेको अस्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अस्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्याे । अस्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनी १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै, डेबिड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेबिड विजाले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समूह ‘बी’मा अस्ट्रेलिया तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । त्यसैगरी, सोही समूहमा रहेको स्कटल्यान्ड तीन खेलमा दुईमा जित र एक खेलमा अंक बाँड्दै पाँच अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्यान्ड दुई खेलमा एक अंकका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।     
  
 

See More On

सुझावित समाचार