गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग.२च ३२६२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सत्यवती गाउँपालिका– ८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। उनका अनुसार जिप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकामध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । उनका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ ।