एक्सिलेन्स सेन्टर र काठमाडौं जिल्ला क्रिकेट संघले एनसिसिएस महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार ललितपुरविरुद्ध सुपर ओभरमा जित निकाल्दै काठमाडौं महिलातर्फ च्याम्प्यिन भएको हो ।
पुरुषतर्फ एक्सिलेन्स सेन्टरले भक्तपुर क्रिकेट सेन्टरलाई डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा १२ रनले पराजित गर्यो । मूलपानी क्रिकेट मैदानमा भक्तपुरले टस जितेर सात विकेट गुमाउँदै एक सय २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा क्रिकेट एसिक्सलेन्सले १६.१ ओभरमा तीन विकेट गुमाउँदै १११ रन बनाएको अवस्थामा खराब वर्षाका कारण खेल रोकिएको थियो । खेल पुनः खेलाउन सम्भव नभएपछि क्रिकेट एसिक्लेन्सलाई विजेता घोषणा गरिएको हो ।
दीपेन्द्र रावत र शिभम तिवारीले समान ३८ रन बनाउँदै क्रिजमा रहँदा वर्षा भएको थियो । रित गौतमले १९ रन बनाए । भक्तपुरका लागि पूर्ण थापाले ४६ बलमा ५३ रनको योगदान गरे । अरुण ऐरीले २७ र इर्सद अहमदले अविजित २१ रन बनाए । क्रिकेट एक्सिलेन्सका लागि राज बमले तीन विकेट लिए । उपाधिसँगै क्रिकेट एक्सिलेन्सले २५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता भक्तपुरले १५ हजार रुपैयाँ पायो ।
काठमाडौं सुपर ओभरमा विजयी
ललितपुरविरुद्ध सुपर ओभरमा जित निकाल्दै काठमाडौं महिलातर्फ च्याम्पियन बनेको छ । मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिइयो । काठमाडौंका लागि विपिशा शाहीले ३५, करिस्मा गुरुङले २१ र अस्मिता खरेलले २० रन बनाए ।
ललितपुरका लागि स्वेता गुप्ताले दुई तथा मनीषा उपाध्याय र यासु पाण्डेले समान एक विकेट लिए । ललितपुरका लागि यासु पाण्डेले ५२ बलमा ५६ रन र साबिका यादवले ४० रन बनाए । काठमाडौंका लागि संस्कृति फँुयालले दुई तथा विपिसा शाही र अस्मिता खरेलले समान एक विकेट लिए । उपाधिसँगै काठमाडौंले २५ हजार र उपविजेता ललितपुरले १५ हजार रुपैयाँ पाएका छन् ।