रारा गोल्डकपको उपाधि सलहेश युथ क्लबलाई

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

धनकुटाको राजारानीमा सम्पन्न ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साबिक विजेता सिराहाको सलहेश युथ क्लबले हात पारेको छ।

चौबिसे गाउँपालिका– ६ स्थित पुण्य माविको मैदानमा बिहीबार भएको फाइनल खेलमा आयोजक रारा क्लब राजारानीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सलहेशले उपाधि जितेको हो।

खेलको २५औँ मिनेटमा रारा फुटलब क्लबका प्रदीप भण्डारीले टिमलाई अग्रता दिलाएका थिए। तर, ५५औँ मिनेटमा सलहेशका फागुराम थारूले गोल गर्दै खेल बराबरीमा पुर्याए। खेल बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो।

टाइब्रेकरमा सलहेशका जय गुरुङ, आदित्य शाक्य, कुलदीप कार्की र फागुराम थारूले गोल गरे। आयोजक राराको तर्फबाट ताया र शिशिर लेखीले मात्र गोल गरे। राराका विशाल घलान तामाङ र राम बाजीको प्रहार सलहेशका गोलकिपर युनिश चौधरीले रोकिदिए।

फाइनल खेलको म्यान अफ दी म्याच सलहेशका फागुराम थारू घोषित भए। उनले नगद सात हजार पाए । साबिक विजेतासमेत रहेको सलहेशले उपाधिसहित नगद पाँच लाख प्राप्त गरेको छ। उपविजेता राराले दुई लाख ५० हजारमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रारा फुटबल क्लबका राम बाजी घोषित भए। उनले नगद ५० हजार र ट्रफी हात पारे। बेस्ट गोलकिपर सलहेशका युनिश चौधरी र उदीयमान खेलाडी राराका विशाल लिम्बू घोषित भए। उनीहरूले ट्रफीसहित जनही ११ हजार प्राप्त गरे।

जेठ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको थियो।

सुझावित समाचार