टिम विन्ध्यवासिनी र बाराहीले यू– १९ वाइवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनाेट प्रतियोगिता ०८१ मा विजयी सुरुवात गरेका छन्।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई नौ विकेट र दोस्रो खेलमा बाराहीले टिम अकलालाई सात विकेटले पराजित गरेको हो।
२५ ओभरमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभरमा नौ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो। एक सय १६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको विन्ध्यवासिनीले १५.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे।
विन्ध्यवासिनीको जितमा सिब्रिन श्रेष्ठले नटआउट रहँदै अर्धशतक पूरा गर्ने क्रममा ५१ बलमा नौ चौका र पाँच छक्कासहित टोलीका लागि ७६ रनको योगदान गरे। उनी खेलका म्यान आफ दी म्याचसमेत घोषित भए। टोलीका लागि सुरज श्रेष्ठले १७ र सफल श्रेष्ठले नटआउट रहँदै एक रन जोडे।
भद्रकालीका लागि सलभ सुवेदीले नटआउट रहँदै ५० बलमा दुई चौकासहित टोलीका लागि सर्वाधिक २९ रन जोडेका थिए। टोलीका लागि सुमन पन्तले २५, अर्जुन कुमालले २२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अकला १४.६ ओभरमा सबै विकेट गुमाएर ५५ रनमा समेटिएको थियो। ५६ रनको सहज लक्ष्य पछ्याउँदै मैदान उत्रेको बाराहीले तीन विकेटको क्षतिमा ८.४ ओभरमै लक्ष्य पूरा गर्याे।
बाराहीको जितमा ओपनर रोहित चन्द्र नटआउट रहँदै २३ बलमा चार चौकासहित २६, खेलका म्यान आफ दी म्याच आदित्य थापाले १४ रन जोड्दा टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
उता अकलाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा अनिश पटेलले टोलीका लागि सर्वाधिक सात रन जोडेका थिए।