मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय प्रतियोगितामा तेस्रो जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो । सुरुवाती ब्याटिङ गरेको मदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदा दुई सय ३१ रन बनायो । प्रत्युत्तरमा कर्णाली ४१.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ७० रन बनाउन सफल भयो ।
जितपछि मधेश पाँच खेलमा तीन जितसहित ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा कोशीविरुद्ध सात विकेटले जित निकालेको मधेशले त्यसपछि आर्मीसँग एक सय २६ रन र बागमतीविरुद्ध ८६ रनले पराजित भएको थियो । चौथो खेलमा एपिएफविरुद्ध पाँच विकेटले विजयी भएको हो ।
मधेशका कप्तान हरिशंकर शाहले शीर्ष चारमा रहन बाँकी खेलमा जित्नै पर्ने दबाब रहेको बताए । उनले शीर्ष चारको लक्ष्य राखेको प्रतिक्रिया दिएका छन् । ‘हामीले दुई खेल हारिसकेका छौँ । अब शीर्ष चारमा स्थान बनाउन बाँकी खेल राम्रो गर्नुपर्छ । त्यही योजनामा हुनेछौँ,’ उनले भने, ‘मिहिनेत गरे जित्न सकिन्छ भन्ने आत्मविश्वास थियो । टोलीमा ट्यालेन्ट खेलाडी छन् । उनीहरूले अवसर पाए भविष्यमा राम्रो गर्नेछन् । साझेदारी राम्रो भएपछि राम्रो स्कोर बन्यो । साझेदारी राम्रो गर्न सकेन हरेक खेल राम्रो हुनेछ ।’
प्रतियोगितामा कर्णालीको यो दोस्रो हार हो । दुई खेलमा जित निकालेको कर्णाली चार अंकसहित सातौँ स्थानमा छ । पहिलो खेलमा गण्डकीविरुद्ध सात रनले विजयी भएको कर्णाली दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध एक सय ३४ रनले पराजित भएको थियो । तेस्रो खेलमा लुम्बिनीलाई ६० रनले हराएको हो । कर्णालीका कप्तान रवीन्द्रजंग शाही एकदिवसीय भन्दा टी–२० कै खेल प्रभाव देखिएको बताए । जसका कारण पूरा खेलमा टिक्न नसकेको उनको प्रतिक्रिया थियो ।