व्यवसायीको पहलमा खुत्रुकेमा बचत भएको पैसा विपन्न विद्यार्थीलाई सहयोग गरिने

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण

हेटौँडा कुलेखानी हुँदै काठामाडौं जोड्ने सडकखण्डको देउराली क्षेत्रमा रहेका व्यवसायीहरूको प्रयासमा खुत्रुकेमा जम्मा भएको रकम विपन्न तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थी र विद्यालयलाई सहयोग गरिने भएको छ। 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा रहेको देउरालीका आठवटा होटेल तथा किराना पसल व्यवसायीहरूको आइतबार बसेको भेलाले खुत्रुकेमा जम्मा भएको पैसा वडाभित्रको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सहयोग गर्ने निर्णय गरेको हो। 

इन्द्रसरोवर गाउँपालिका–२ का वडाध्यक्ष सुमन श्रेष्ठले देउराली टोलसुधार समितिको अगुवाइमा विगत ६ महिनादेखि विभिन्न होटेल तथा किराना पसलहरूमा राखिएका खुत्रुकेमा ४८ हजार चार सय ३५ रुपैयाँ जम्मा भएको र सो रकम विद्यार्थीहरूलाई सहयोग गर्न लागिएको जानकारी दिए।

किराना पसलले र होटेल व्यवसायीहरूले दिनको एक कप चियाबराबरको २० रुपैयाँ तथा होटेल–पसलमा आउने यात्रुहरूले इच्छाअनुसार गरेको सहयोग खुत्रुकेमा खसाल्दै आएका थिए। कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूको अध्ययनका लागि यसअघि पनि वडाको पहलमा व्यवसायीहरूले सहयोग गर्दै आएका छन्। 

गत वर्ष एसइई परीक्षामा सहभागी खानीखेतस्थित पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्थानीय होटेल तथा किराना पसल व्यवसायीले ४८ हजार रुपैयाँ सहयोग गरेका थिए।

सुझावित समाचार