विशालले बनाए राष्ट्रिय रेकर्ड

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

 नेपालका विशालसिंह विष्टले साउदी अरबको रियादमा चलिरहेको विश्व भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले पुरुष ९६ केजी तौलसमूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । नेपाल भारोत्तोलन संघका अनुसार उनले आफ्नै नाममा रहेको रेकर्ड सुधार गरेका हुन् ।

विशालले स्न्याचतर्फ १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र समग्रमा २९१ केजी भार वहन गरे । गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा उनले स्न्याचमा १२० केजी, क्लिन एन्ड जर्कमा १६१ र समग्रमा २८१ केजीको रेकर्ड राखेका थिए । १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको हो । 

नेपालका लागि यसअघि विकास भट्टले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका थिए । च्याम्पियनसिपमा नेपालबाट पाँच खेलाडी छन् । महिला खेलाडीद्वय टीकामाया गुरुङ र शारदा चौधरीको प्रतिस्पर्धा सकिइसकेको छ । महिला खेलाडीले भने राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । विशाल, विकास, टीकामाया र शारदा चारै खेलाडीले चीनको हान्झाउमा हुने १९औँ एसियन गेम्समा पनि सहभागिता जनाउनेछन् । च्याम्पियनसिपमा नेपालका सागर भण्डारीको प्रतिस्पर्धा बाँकी छ । उनले पुरुष १०९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

सुझावित समाचार