नवप्रवर्तनमा नीतिगत व्यवस्थाको खाँचो

नेपाल नवप्रवर्तन तथा विकास उपलब्धिका हिसाबले निकै पछाडि छ, नवप्रवर्तनलाई संरक्षण गर्न र माथि उकास्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्छ

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

समाज र राष्ट्र विकास हुँदै अघि बढ्नका लागि केही न केही उत्प्रेरक तत्व चाहिन्छ । विकास शून्यतामा हुन सक्दैन । यसका लागि त परिस्थिति र परिवेशजन्य विविध तत्वहरूसँग अन्तरघुलन हुँदै तयार पारिएको योजनाले हस्तक्षेप गर्नुपर्छ । हुन त योजना र रणनीतिक हस्तक्षेपविना पनि समाज सामान्य विकासको गतिमा हिँडिरहन्छ भन्ने मान्यता पनि छ । तर विकासलाई उथलपुथलपूर्ण बर्ना अघि बढ्न नवप्रवर्तनले भरिएका नीतिको कार्यान्वयन मुख्य प्रेरक तत्व हो । विज्ञान र प्रविधिले चामत्कारिक फड्को मारी अन्य देशले त्यसको सदुपयोग गरेका मात्रै छैनन्, तीव्र गतिमा विकास गरिररहेका छन् । हामी टुलुटुलु हेरेर बस्ने वा नवप्रवर्तनसहितको हस्तक्षेप गरी अघि बढ्ने भन्ने छनोट हाम्रै हातमा छ ।

अहिलेको विश्व जटिल रूपमा सञ्जालीकृत छ । विश्वको जुनसुकै कुनाको घटना पनि हाम्रा लागि टाढाको विषय हुन छोडेको छ । विश्वव्यापीकरणसँगै सिर्जित अवसरलाई पहिचान गर्ने तथा जटिलता छिचोल्न सक्ने नीति र संयन्त्र निर्माण गर्न सकेनौँ भने हामीलाई यही अवस्थामा छाडेर विश्व धेरै अगाडि बढिसक्नेछ । जनताको अपेक्षा, राजनीतिको सपना र हाम्रा नीतिगत संयन्त्र हिँड्ने बाटो एउटै दिशातिर जानुपर्छ । यसका लागि नवप्रवर्तनमुखी शासन प्रणाली अवलम्बन गर्दै राज्यको सेवाप्रवाह तथा विकास निर्माणलाई फरक किसिमले जनताले अनुभूत गर्ने गरी अघि बढाउनुपर्छ । 

विद्वान थियोडर लेभिटले भनेका छन्, ‘नयाँ कुरा सोच्नुलाई सिर्जनशीलता भनिन्छ भने नयाँ कुरा गर्नुलाई नवप्रवर्तन भनिन्छ ।’ नवप्रवर्तन अर्थात् इनोभेसन अहिलेको विश्व परिवेशको जादुमयी अवधारणा हो, जसको प्रयोगले व्यक्ति, संस्था, समाज र राष्ट्रका धेरै सफलताका कथाहरू बुनिइसकेका छन् । 

खासमा नवप्रवर्तन एउटा उत्साह हो, सिर्जनशील तनाव हो, जिज्ञासा र निरन्तरको सिकाइ पनि हो । साथै, यो जटिलतालार्ई छिचोल्न निकालिएको नयाँ उपाय हो । तथ्यमा आधारित नीति निर्माण र कार्यान्वयनको नयाँ अध्याय हो । नवप्रवर्तनले हरदम नयाँ कुराको माग गरिरहेको हुन्छ । कारण, निरन्तर परिवर्तन भइरहने समाज र राष्ट्रको परिवेशमा उब्जिएका समस्या पुरानो शैलीले समाधान गर्न गाह्रो हुन्छ ।

शासनमा नवप्रवर्तन भन्नाले नवीन शैलीमा राज्य, निजी क्षेत्र तथा शासनका सरोकारवालाहरूले वैज्ञानिक विधि र प्रविधिमा आधारित पद्धतिको निर्माण गरी सोको अवलम्बन र अनुसरण गरेर पहिलेकोभन्दा राम्रो नतिजा प्राप्त गर्ने शैलीलाई बुझाउँछ । नवप्रवर्तन हचुवाको भरमा हुन सक्दैन । नवप्रवर्तन कुन कुन क्षेत्रमा आवश्यक छ भन्ने निक्र्याेल भएपछि मात्र यसले नवप्रवर्तनलाई दिशानिर्देश गर्छ । यसका लागि कुनै पनि क्षेत्रको समस्या पहिचान गर्ने, त्यस्तो समस्या समाधानका लागि नवीन उपायहरूको पहिचान गर्न खोज तथा अनुसन्धान गर्ने, अनुसन्धानमा आधारित भई समस्या समाधान गर्न सक्ने नवीन शैली र विधिको विकास गर्ने र उपयोगका लागि यसको बजारीकरण गर्नेजस्ता चरण पार गर्नुपर्छ । 

विश्वव्यापीकरणसँगै सिर्जित अवसरलाई पहिचान गर्ने तथा जटिलता छिचोल्न सक्ने नीति र संयन्त्र निर्माण गर्न सकेनौँ भने हामीलाई यही अवस्थामा छाडेर विश्व धेरै अगाडि बढिसक्नेछ ।
 

नवप्रवर्तन आफैँ पनि गर्न सकिन्छ भने अरूले गरेको नवप्रवर्तनलाई अनुसरण पनि गर्न सकिन्छ । तर, स्थानीय समस्या समाधानका लागि स्थानीय शैलीको नवप्रवर्तन नै प्रभावकारी भएका सफल उदाहरण छन् । तसर्थ ‘कपी एन्ड पेस्ट’ शैलीको नवप्रवर्तनभन्दा आन्तरिक रूपमा निर्माण गरिने नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति राज्यले लिनुपर्छ । यसो भन्दै गर्दा अन्यत्र विकास भएको नवप्रवर्तनलाई हाम्रो माटो सुहाउँदो हुने गरी परीक्षण गरेर लागू गर्ने पाटोलाई पनि सरकारले हतोत्साही गर्नुहुँदैन । 

नवप्रवर्तनको क्षेत्र व्यापक हुन्छ । नागरिकको चासो भएका जुनसुकै क्षेत्रमा पनि नवप्रवर्तनको आवश्यकता हुन्छ । नवप्रवर्तनको कुनै सीमा हुँदैन । वस्तु, सेवा, प्रक्रिया, नीति, रणनीति, योजना, शासन, बजारीकरण, सेवा प्रवाहलगायतका क्षेत्रमा नवप्रवर्तन भयो भने यसले एकातिर व्यापक जनसन्तुष्टि सिर्जना गर्न सक्छ भने अर्काेतिर प्रतिस्पर्धाको क्षेत्रमा अब्बल बनाउँछ । राज्यका नीतिगत प्राथमिकतामा परेका क्षेत्रमा नवप्रवर्तन भयो भने यसले चामत्कारिक नतिजासमेत निकाल्न सक्छ ।

नवप्रवर्तन सरकारको एक्लो प्रयासले मात्र सम्भव हुने विषय होइन । तर, जहिले पनि सरकारलाई नवप्रवर्तनको अग्रणी भूमिकामा हेर्ने गरिन्छ । अहिले बढी प्रचलनमा आएको नयाँ सार्वजनिक शासनको अवधारणाले त सहभागितामूलक भूमिकाको वकालत नै गर्छ । कतिपय सार्वजनिक चासो र सरोकारको विषयमा सरकार आफैँ, निजी क्षेत्रको सरोकारको विषयमा निजी क्षेत्रले तथा सार्वजनिक निजी साझेदारीमा समेत नवप्रवर्तनका पहल गर्न सकिन्छ ।

नेपाल नवप्रवर्तन तथा विकास उपलब्धिका हिसाबले निकै पछाडि छ । यस्तो अवस्थामा स्टार्टअप तथा साना व्यवसायलाई संरक्षण गर्ने तथा उकासिन सहजीकरण गर्ने हिसाबले नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ । यसो गरेमा अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहज हुन्छ । प्रक्रियाको गोलचक्करमा अड्काउनेभन्दा पनि लचक प्रक्रियामार्फत सहजीकरण गर्दै केही गर्न खोज्नेलाई प्रोत्साहन गर्नेतर्फ सचेत हुनुपर्छ ।

प्रतिस्पर्धाको दुनियाँमा अहिलेको विश्व धेरै अगाडि बढेको छ । आफू अब्बल साबित हुन स–साना स्टार्टअपदेखि ठूला ठूला बहुराष्ट्रिय कम्पनीसम्मले नवप्रवर्तनलाई अनिवार्य आवश्यकताको रूपमा लिइसकेका छन । बब आइगरले भनेका छन्, ‘कम्पनीको मुटु र आत्मा भनेको सिर्जनशीलता र नवप्रवर्तन हो ।’

 नवीनता, सिर्जनशीलता, फरकपना, अरूको मन मस्तिष्कसम्म पुग्न सक्ने शैली नवप्रवर्तनले नै दिन सक्छ । विकसित देशहरूमा नवप्रवर्तनका लागि गरिने अध्ययन, अनुसन्धानमा ठुलो रकम लगानी गरिएको हुन्छ । तर, अविकसित मुलुकहरूमा अध्ययन र अनुसन्धानमा गरिने लगानीलाई खर्चको रूपमा हेर्ने प्रवृत्ति देखिन्छ । नेपालको सन्दर्भमा हरेक वर्ष विकास बजेटको कम्तीमा एक प्रतिशत आविष्कार र अनुसन्धानको क्षेत्रका लागि विनियोजन गरिनुपर्ने मागसहित आन्दोलनमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच हालसालै भएको सहमतिले नवप्रवर्तनका विषयमा थप नीतिगत बहस गर्ने अवसर सिर्जना भएको छ ।

विश्वमा सार्वजनिक तथा निजी दुवै क्षेत्रले नवप्रवर्तनलाई प्रयोग गरेर सफलताका सिँढीहरू चढेका कैयौँ उदाहरण देखिन्छन् । हाल विश्वका सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा चिनिएका एलन मस्कले चालकबिहीन टेस्ला विद्युतीय कारमार्फत वातावरणमैत्री ऊर्जा खपतका लागि नवप्रवर्तन गरिरहेका छन् ।

त्यस्तै, निकै खर्चिलो हुने अन्तरिक्ष यान निर्माणमा नवप्रवर्तन गर्दै उनको आफ्नै कम्पनी स्पेस एक्समार्फत पुनःप्रयोग गर्न मिल्ने रकेट प्रविधि अपनाएर सबैको ध्यान खिचेका छन् । यस्तै, इस्टोनियाले डिजिटल शासन प्रणालीलाई अवलम्बन गर्दै सरकारका लगभग सबै सेवा अनलाइनमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । इजरायलले ‘स्टार्टअप नेसन’  मार्फत नवप्रवर्तन र उद्यमशीलतामा ठूलो फड्को मारेको छ भने न्युजिल्यान्डले बजेटमा नवप्रवर्तन गर्दै सामान्यतः आर्थिक सूचककेन्द्रित बजेटलाई कल्याणकारी सूचककेन्द्रित ‘वेलबिइङ बजेट’ मा रूपान्तरण गरेको छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । अहिले समग्र विश्व नै नवप्रवर्तनमय बन्दै गइरहेको छ । अन्य देशका सफल उदाहरणबाट शिक्षा लिँदै नेपालले नवप्रवर्तनलाई प्राथमिकतामा राखेर अघि बढ्नुको विकल्प देखिँदैन ।

नेपालमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलगायतका संस्थागत संरचना अध्ययन अनुसन्धानलार्ई केन्द्रमा राख्दै स्थापना भएका छन् । त्यस्तै, सेवाप्रवाहमा नवप्रवर्तनका लागि नागरिक एप, मेरो कित्ता, हेलो सरकारजस्ता प्रयासमार्फत नागरिकलाई सहजीकरण गरिएको छ । सरकारी सेवाप्रवाहमा डिजिटल पद्धति अवलम्बन गरिँदै छ । उदाहरणका लागि लोकसेवा आयोगको आवेदन प्रणाली अनलाइन माध्यमबाट हुने व्यवस्था हुँदा दूरदराजका परीक्षार्थीलाई समेत सहजता मिलेको छ । जैविक विवरणसहितको राष्ट्रिय परिचयपत्र विवरण संकलन भइहेको छ । विद्युतीय राहदानी वितरण सुरु भइसकेको छ । हाम्रा प्रयासका बाबजुद हामीले नवप्रवर्तनका लागि निकै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ । 

विश्व बौद्धिक सम्पत्ति संगठनले सन् २०२२ मा प्रकाशन गरेको विश्व नवप्रवर्तन सूचकांकमा १३२ मुलुकमध्ये नेपाल १११ औ स्थानमा पर्नुले हाम्रा नवप्रवर्तनका सूचक नराम्रो भएको देखाउँछ । नवप्रवर्तनलाई केन्द्रविन्दुमा राखी परिवर्तन भइरहने प्रविधिलार्ई समेत ध्यानमा राखेर राष्ट्रिय नवप्रवर्तन नीति ल्याउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने किसिमका ऐन कानुन ल्याउने, स्टार्टअपको लगानी सुरक्षामा ध्यान दिने, एउटा स्वायत्त राष्ट्रिय नवप्रवर्तन प्राधिकरण गठन गरी तीनै तहका सरकारसँग नवप्रवर्तनमा समन्वय गर्ने व्यवस्था गर्ने, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने, प्रत्येक मन्त्रालयमा नवप्रवर्तन प्रवद्र्धन युनिट गठन गरी त्यसलाई कार्यमूलक बनाउनेलगायतका काम गर्नुपर्ने देखिन्छ । 


बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको पद्धतिलाई अन्य सरकारी सफ्टवेयरसँग सकेसम्म छिटो आबद्ध गरेमा सेवाग्राहीलाई शीघ्र सरकारी सेवा प्राप्त गर्न सहज हुनेछ । स्टिभ जब्सले भनेका छन्, ‘नवप्रवर्तनमार्फत नेता र अनुयायीबीचको फरक छुट्याउन सकिन्छ ।’ नेतृत्वमा देशको अवस्थाको बोध हुनुपर्छ, नवप्रवर्तनको अतृप्त भोक हुनुपर्छ, सपना साकार पार्ने सोच हुनुपर्छ, अनि निरन्तरको खोज हुनुपर्छ । निरन्तरको राजनीतिक उथलपुथल देखिरहेका नेपाली नागरिकले विकास र समृद्धिको उथलपुथल हाम्रै जीवनकालमा देख्न सक्ने गरी अघि बढ्न नवप्रवर्तनलाई मूल मन्त्र बनाउन जरुरी छ ।
(शर्मा नेपाल सरकारका उपसचिव हुन् । 

सुझावित समाचार