झापा फुटबलका लागि उर्वर मानिन्छ । यहाँ प्रत्येक वर्ष हुने फुटबल गोल्डकप हेर्न रंगशालामा दर्शक खचाखच हुन्छन् । झापा, भद्रपुर–झापा, दमक, झिलझिले, काँकडभिट्टा गोल्डकपजस्ता प्रतिष्ठित प्रतियोगिता नियमितजसो आयोजना हुँदै आएका छन् । व्यवस्थित रंगशाला नहुँदा पनि बाँसको प्यारापिट निर्माण गरेर गरिने गोल्डकपहरूमा दर्शक भरिभराउ हुन्छन् । जसले फुटबलप्रति झापाली दर्शकको प्रेम झल्काएको छ ।
कोरोना महामारीको समयमा कतिपय गोल्डकप नियमित हुन सकेनन् । कोरोनासिर्जित आर्थिक संकटका कारण केही गोल्डकपले निरन्तरता पाउन नसकेका हुन् । फुटबलप्रति मोह भएको झापामा पछिल्लो समय ‘मिनी फुटबल’का रूपमा लिइने फुटसल ‘क्रेज’ उस्तै छ । झापाका ठूला सहरमा करोडौँ लगानीमा फुटसल कोर्ट बने र बनिरहेका छन् । अहिले यहाँ ६ वटा फुटसल सञ्चालनमा छन् ।
पूर्वको बिर्तामोड र अर्जुनधारामा समान एक फुटसल कोर्ट सञ्चालनमा छन् । दमक र मेचीनगरमा दुईवटा फुटसल रहेका छन् । यी ६ वटै फुटसलमा नियमित खेलाडीले प्रतिस्पर्धा गरिरहेका देखिन्छन् । ०७४ देखि यहाँ ती फुटसल सञ्चालनमा आएका हुन् । पछिल्लो पाँच महिनामा मात्र झापामा दुई फुटसल सञ्चालनमा आएका छन् । दमकस्थित विष्ट फुटसल गत जेठबाट सुरु भएको हो । अर्जुनधारा–६ मा रहेको गमस्ट फुटसल गत चैतदेखि सञ्चालनमा आएको हो ।
यी दुवै फुटसल कोर्टमा एक करोडभन्दा बढी लगानी भएका छन् । यसलाई अत्याधुनिक र सुविधासम्पन्न बनाउन निर्माणको काम भइरहेको छ । केही फुटसल सञ्चालनका लागि तयारी पनि भइरहेको छ । आधुनिकीकरणका कारण सहरमा रहेका खेलमैदान मासिएका छन् । अहिले खाली सरकारी जमिनमा सरकारले नै धमाधम संरचना निर्माण गरिरहेको छ ।
फुटसल जनमानसमा लोकप्रिय
खेलमैदान अभावमा फुटबल खेल्न सक्ने अवस्था छैन । तर, फुटबलको विकल्पमा रहेको फुटसलप्रति आमजनमानसको लोकप्रियता बढिरहेको छ । ‘सहरमा खेलमैदान छैन, तसर्थ फुटसल राम्रो चलिरहेको छ,’ गमस्ट फुटसलका सञ्चालक अजय कार्कीले नयाँ पत्रिकालाई बताए, ‘साँझ र बिहान भिड हुन्छ, उमेरले ४० नाघेका र विद्यालय पढ्ने बालबालिका धेरै आउने गरेका छन् ।’
जाडोको समयमा यहाँका खेलमैदानमा फुटबल चलिरहेको हुन्छ । तर, बर्खा लागेसँगै खेलमैदान हिलाम्मे हुन्छन् । खेलमैदानमा प्रशिक्षण गराउन नसकिएपछि कतिपयले फुटसलमै प्रशिक्षण गराउने गरेका छन् । ‘बर्खामा मैदानमा हुन नसकेको प्रशिक्षण फुटसलमै हुन्छ । अहिले हाम्रो फुटसलमा बालबालिकाका लागि बिर्तामोड ट्रेनिङ सेन्टरले प्रशिक्षण गराइरहेको छ,’ बिर्तामोड–१ स्थित एप्स्युलुट फुटसलका सञ्चालक निकुञ्ज बस्नेतले भने, ‘६ वर्षदेखि हामीले फुटसल सञ्चालन गरिरहेका छौँ । विगतमा भन्दा अहिले फुटसलप्रतिको क्रेज बढिरहेको छ । हामीले यसबीचमा धेरै प्रतियोगिता पनि ग¥यौँ ।’
पर्याप्त खेलमैदान नहुँदा फुटसलमा ध्यान
फुटसललाई शारीरिक व्यायामको रूपमा पनि लिइने गरिएको छ । दिनभर व्यवसाय गर्नेहरू पनि बिहान–बेलुका फुटसलमा आउने गरेको विष्ट फुटसलका सञ्चालक मुकेश शर्मा न्यौपानेले बताए । यो फुटसल दुई महिनाअघि दमकमा सञ्चालमा आएको हो । ‘फुटसल शारीरिक व्यायामका लागि पनि हुन्छ । शारीरिक व्यायामका लागि पर्याप्त खेलमैदान नभएको अवस्थामा फुटसलमा त भिड नै लाग्छ,’ उनले भने, ‘दिउँसो खासै मान्छे हुँदैनन् । बिहान–बेलुका धेरै आउँछन् । व्यवसाय गर्नेहरू स्वास्थ्यका लागि भनेर पनि बिहान–बेलुका आउने गरेका छन् ।’
‘इन्डोर’ भएका कारण फुटसल सबै मौसमका लागि राम्रो हुने झापा फुटबल संघका अध्यक्ष भगीरथ आले बताउँछन् । विद्यालय तहदेखि नै खेलाडी उत्पादनका लागि फुटसल उपयुक्त हुने उनी बताउँछन् । यसले राम्रा खेलाडी उत्पादन गरेर फुटबलमा पनि योगदान गर्न सक्ने उनले बताए । ‘फुटसललाई घामपानी केहीले रोक्दैन । इन्डोर खेल भएका कारण जनुसुकै मौसममा पनि खेल्न सकिन्छ । फुटसल खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘विद्यालयहरूसँग समन्वय गरेर बालबालिकालाई फुटसलमा जोड्न सके यसले फुटबललाई पनि योगदान गर्ने थियो ।’
मोफसलमा पनि प्रतियोगिता
सहरमा फुटसल खुलेका मात्र छैनन्, पछिल्लो समय प्रतियोगिता पनि हुन थालेको छ । झापाका सबैजसो फुटसलमा निरन्तर प्रतियोगिता भइरहेका छन् । दमकस्थित रणभूमि फुटसलमा ७ साउनदेखि दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले प्रदेशस्तरीय फुटसल प्रतियोगिता आयोजना गर्दै छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त झापा, मोरङ, सुनसरीका २१ वटा क्याम्पसले सहभागिता जनाउँदै छन् । प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने दमक बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सभापति सविम न्यौपानेले जानकारी दिए । ‘क्याम्पसमा भवन निर्माण भइरहेकाले भएको खेलमैदानमा खेलकुद गतिविधि गर्न सक्ने अवस्था छैन ।
अहिले फुटसलमा क्रेज पनि छ,’ उनले भने, ‘त्यही भएर हामीले फुटसल प्रतियोगिता राखेका हौँ । दर्शकको सहजताका लागि फुटसलमा प्यारापिट निर्माणको काम गरिरहेका छौँ ।’ उनका अनुसार अब यो प्रतियोगिता प्रत्येक वर्ष हुनेछ । प्रतियोगिताका लागि १२ लाख ५० हजार खर्च हुने अनुमान गरिएको उनले बताए । फुटसल प्रतियोगिताका लागि तयारी धमाधम भइरहेको न्यौपानेले जानकारी दिए ।