सात सय विकेट लिने आश्विन तेस्रो भारतीय

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

स्पिनर रविचन्द्रन आश्विन अन्तर्राष्ट्रिय क्रिकेटमा सात सय विकेट लिने तेस्रो भारतीय खेलाडी बनेका छन् । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा आश्विनले यो सफलता प्राप्त गरेका हुन् । उनले पहिलो इनिङ्समा पाँच विकेट लिँदा घरेलु टोली वेस्ट इन्डिज एक सय ५० रनमा समेटियो । उनले २४.३ ओभरमा ६० रन खर्चेर पाँच विकेट हात पारे । समग्रमा आश्विनले ९२ टेस्टमा सात सय दुई विकेट लिन सफल भएका छन् । क्रिकेटको तीनवटै फम्यार्टमा सर्वाधिक विकेट लिने सूचीमा उनी १६औँ स्थानमा छन् । 

उनले दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेनलाई पछि पारेका छन् । स्टेनले समग्रमा ६ सय ९९ विकेट हात पारेका छन् । भारतका लागि अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै नौ सय ५६ विकेट लिने खेलाडी अनिल कुम्बले हुन् । भारतका स्पिनर हरभजन सिंहले सात सय ११ विकेट लिए । वेस्ट इन्डिजविरुद्धको खेलमा आश्विनले अर्को एउटा रेकर्ड पनि आफ्नो नाममा राखेका छन् । 

उनले टेस्ट करिअरमा ३३ पटक पाँच विकेटभन्दा बढी प्रदर्शन गरेका छन् । एकै इनिङ्समा पाँच विकेटभन्दा बढी संख्या पुर्‍याउने समीकरणमा आश्विनले इंग्ल्यान्डका जेम्स एन्डरसनलाई पछि पारे । आश्विनले ३३ पटक पाँच विकेटको प्रदर्शन गरेका छन् । जेम्सले ३२ पटक पाँच विकेट लिए । टेस्ट क्रिकेटमा श्रीलंकाका स्पिनर मुथैया मुरलीधरणले विश्व रेकर्डका रूपमा ६७ पटक पाँच विकेटभन्दा बढी प्रदर्शन गरका छन् । आश्विनले टेस्टमा ९६ पटक ब्याट्सम्यानलाई बोल्ड गरेको रेकर्ड पनि राखे । 

सुझावित समाचार