नेपाली क्रिकेटरले श्रीलंकामा हुने इमर्जिङ टिम्समा भारत र पाकिस्तानका ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने
नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार जिम्बावेबाट नेपाल फर्किएको थियो । जिम्बावेमा एकदिवसीय विश्वकप क्रिकेट ग्लोबल प्रतियोगितामा सहभागी हुँदै घर फर्किएको चार दिन बित्न नपाउँदै नेपाली क्रिकेटरले फेरि अर्को अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै छन् । श्रीलंकामा आयोजना हुने इमर्जिङ टिम्स कपमा भाग लिन टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा एसियाका टेस्ट मान्यताप्राप्त भारत, बंगलादेश, पाकिस्तान, आयोजक श्रीलंका र अफगानिस्तान पनि सहभागी हुनेछन् । टेस्ट राष्ट्रका ‘ए’ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पूरै राष्ट्रिय टोली पठाएको हो । श्रीलंकामै हुने एसिया कपमा समेत प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपालको राष्ट्रिय टोली समावेश भएको हो । खेलाडीले एसिया कपको तयारीका रूपमा इमर्जिङ टिम्सलाई लिएको छ । टोलीमा ग्लोबल छनोट खेलेका ११ जना छन् । अन्तर्राष्ट्रिय क्रिकेटको एक्सपोजर प्रदान गर्न पाँच नयाँ खेलाडी नेपाली टोलीमा छन् । नेपालले भारत, पाकिस्तान र युएईका ए टिमसँग खेल्नेछ ।
‘एसिया कपमा हामीले टेस्ट राष्ट्रविरुद्ध खेल्नुपर्छ, मुख्य प्रतियोगिताअघि खेलाडीले बढीभन्दा बढी एक्सपोजर पाउने उद्देश्यका साथ नै क्यानले ग्लोबल छनोटमा सहभागी टोलीलाई पठाएको हो,’ सोमबार खेलाडी बिदाइ कार्यक्रममा क्यानका कोषाध्यक्ष रोशन सिंहले भने, ‘ओमान र युएई एसिया कपमा छैनन्, खेलाडीले अनुभव प्राप्त गरून् भन्ने उद्देश्यका साथ इमर्जिङ टिम्समा राष्ट्रिय टोली नै पठाएका हौँ ।’
गत फागुनदेखि नेपाली खेलाडी अन्तर्राष्ट्रिय खेलमा व्यस्त छन् । आइसिसी विश्वकप लिग–२ मा नेपालले लगातार १२ मध्ये ११ खेलमा जित्यो । त्यससँगै काठमाडौंमै भएको एसिसी प्रिमियर कपमा अपराजित रही नेपालले ट्रफी उचाल्यो । प्रिमियर कपको विजेताका रूपमा नेपाल एसिया कपमा छनोट भएको हो । नेपालले दुई साता एकदिवसीय ग्लोबल छनोटमा समेत भाग लियो । जहाँ खेलाडीले जिम्बावे, वेस्ट इन्डिज तथा आयरल्यान्डजस्ता बलिया राष्ट्रविरुद्ध खेले । श्रीलंकामा नेपाली टोलीको लक्ष्य नै अनुभवसँगै उपाधि दाबेदारी दिने हो । नेपालले श्रीलंकामा खेल्दा कुनै पनि खेल एकदिवसीय हुनेछैन । युएईले समेत ‘ए’ टोली नै पठाएको छ ।
नेपालले समूह चरणअन्तर्गत १४ जुलाईमा पाकिस्तानविरुद्ध कोलम्बो क्रिकेट क्लब मैदानमा खेल्नेछ । १७ जुलाईमा भारत ‘ए’सँग प्रेमदासा रंगशालामा र युएईसँग पी सारा ओभलमा खेल्नेछ । यी तीनवटै रंगशाला एसिया कपमा प्रयोग हुन सक्छन् ।
जिम्बावेको अनुभव प्रयोग हुने
नेपालका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय ग्लोबल छनोटमा प्राप्त अनुभव श्रीलंकामा राम्रोसँग प्रयोग हुने बताए । ‘एकदिवसीय विश्वकप छनोटमा हामीले टेस्ट टोलीसँग खेलेका थियौँ, बलिया टोलीविरुद्ध कसरी खेल्ने भन्ने थाहा भएको छ,’ उनले भने, ‘अब इमर्जिङ टिम्समा कसरी खेल्नुपर्छ भन्ने अनुभव छ ।’ नेपाली टोलीको बेन्च बलियो बनाइने उनले बताए । यसै कारण पाँच नयाँ खेलाडीलाई मौका दिन लागेको उनले जनाए । ‘टोली बलियो बनाउन बेन्च पनि राम्रो हुनुपर्छ,’ उनले भने, ‘हामी थप खेलाडीका साथ श्रीलंका जाँदै छौँ, युवा खेलाडीले त्यहाँ अनुभव लिनेछन्, जुन पछि आउने प्रतियोगिताका लागि राम्रो हुनेछ ।’ श्रीलंकामा गएको टोलीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र करण केसी छैनन् । क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई आराम दिएको छ । सन्दीप ग्लोबल टी–२० क्यानडा लिग खेल्न जानेछन् । यसैले उनीहरूलाई क्यानले इमर्जिङ टिम्स खेल्ने टोलीमा समावेश नगरेको हो ।
श्रीलंकामा अभ्यस्त हुने अवसर
प्रशिक्षक देसाईले श्रीलंकामा जति धेरै एक्सपोजर प्राप्त गर्न सकियो, त्यति नै एसिया कपका लागि उत्कृष्ट हुन सक्ने जनाए । एसिया कप पनि श्रीलंकामै हुँदै छ । यसअघि पाकिस्तानमा एसिया कप हुने भनिएको थियो । तर, भारतले पाकिस्तानी भूमिमा प्रतियोगिता नखेल्ने घोषणा गरेपछि एसियन क्रिकेट काउन्सिलले एसिया कप श्रीलंकामा गर्न लागेको हो । दुई महिनापछि श्रीलंकामै हुने एसिया कपअघि नेपाली खेलाडीले मौसम र पिच सम्बन्धमा जानकारी लिने अवसर नै इमर्जिङ टिम्स भएको प्रशिक्षक देसाईको भनाइ छ । ‘अहिलेका खेलाडीले श्रीलंकामा धेरै क्रिकेट खेलेका छैनन्, त्यहाँको मौसमअनुसार हामीले सिक्नुपर्छ,’ उनले भने । यसैगरी, रोहितले पनि खेलाडी सकेसम्म श्रीलंकाको वातावरणमा चाँडै अभ्यस्त हुनुपर्ने बताए । ‘हामी ३–४ दिन तयारी गर्नेछौँ, त्यहाँको चुनौती कस्तो हुन्छ, त्यहीअनुसार खेल्नुपर्छ,’ उनले भने ।
खेलाडीले छिटै रकम पाउने
खेलाडीलाई बिदाइ गरेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले घोषणा गरेको पुरस्कारबापतको रकम छिटै पाउने बताएका छन् । कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले नेपाली क्रिकेट टोलीले घोषणा गरेको पुरस्कारबापतको रकम छिटै पाउनेमा विश्वस्त पारेका हुन् । पुरस्कार नपाएको गुनासो आएपछि खेलकुदमन्त्री लिम्बूले रकम दिनेसम्बन्धी फाइल अर्थ मन्त्रालयमा पुगेको बताए ।‘म आएको दुई महिना भयो । मैले खेलाडीलाई पुरस्कार दिने कुराको फाइल खोतलेँ,’ उनले भने, ‘अर्थ मन्त्रालयमा फाइल पुगेको छ, प्रधानमन्त्रीज्यूले बोलेको कुरा पुर्याउने जिम्मा मैले पूरा गर्नुपर्छ ।’
एसिया कपको तयारी
नेपालका प्रमुख प्रशिक्षक मोन्टी देसाईले इमर्जिङ टिम्सलाई एसिया कपअघिको तयारीका रूपमा लिएका छन् । ‘एक किसिमले इमर्जिङ टिम्स हामीले एसिया कपका लागि अभ्यासका रूपमा लिएका छौँ,’ बिदाइ समारोहमा मोन्टीले भने, ‘यसलाई सबैले एउटा अवसरका रूपमा लिनुपर्छ ।’ श्रीलंकामा खेल जित्ने प्रयास हुने उनले बताए । ‘सहभागिता मात्र नभएर टेस्ट राष्ट्रका ‘ए’ टोलीविरुद्ध जित्ने प्रयास हुनेछ,’ उनले भने, ‘दुई महिनापछि हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानको सिनियर टोलीविरुद्ध खेल्नेछ, त्यसअघि हामीले आफ्नो तयारी राम्रो बनाउनुपर्छ ।’
उनले टेस्ट राष्ट्रबाट आएका ए टोली पनि बलिया भएको जनाए । ‘टेस्ट राष्ट्रका ‘ए’ टोली पनि निकै बलिया छन्, हामीले सामान्य टोलीका रूपमा लिन हुन्न,’ उनले भने, ‘श्रीलंकामा हामी जितको मनोभावनाका साथ खेल्छौँ ।’ नेपालविरुद्ध खेल्ने भारतका खेलाडीसँग विश्वकै चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिगको अनुभव छ । पाकिस्तानका खेलाडीसँग घरेलु प्रतियोगिता खेलेको अनुभव छ । ‘आइपिएल खेलेका खेलाडी छन्, पाकिस्तानमा समेत सिनियर खेलाडी छन्,’ उनले भने, ‘राम्रो खेल हुने अपेक्षा छ र एसिया कपका लागि राम्रो तयारी हुनेछ ।’
प्रशिक्षक देसाईले पुनः एकपटक विश्वकप छनोटको अनुभव श्रीलंकामा प्रयोग हुने जनाए । ‘जिम्बावेमा भएको छनोटमा केही खेलमा हामी जितसम्म पुगेका थियौँ, सामान्य गल्तीमा पराजित भयौँ,’ उनले भने, ‘तर, त्यहाँ हामीले टेस्ट खेल्ने राष्ट्रविरुद्ध अनुभव लियौँ ।’