धनकुटाको सहिदभूमि गाउँपालिकामा असार १३ देखि सुरु भएको प्रथम महिला तथा पुरुष भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ।
‘सक्षम खेलाडी, प्रतिस्पर्धी खेलकुद’ भन्ने नारालाई सार्थक तुल्याउन आयोजित प्रतियोगितामा महिलातर्फ वडा नं. १ र ५ बीच भएको फाइनल खेलमा १५–६ अन्तरले वडा नं. ५ विजयी भएको छ । पहिलो सेट २८–२५, दोस्रो सेट २५–१७, तेस्रो सेट १७–२५, चौथो सेट २५–१९ र पाँचौँ सेट १५–६ अंकसहित वडा नं. ५ प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।
त्यस्तै पुरुषतर्फ वडा नं. १ र वडा नं. ३ बीच भएको फाइनल खेलमा वडा नं. १ बिजयी भएको छ । वडा नं. १ ले ३ लाई सोझो सेटमा हरायो । पहिलो सेट २५–१६, दोस्रो सेट २५–१७ र तेस्रो सेट २७–२५ ले वडा नं. १ विजयी भएको हो ।
महिलातर्फ वडा नं. ५ प्रथम हुँदै नगद ४५ हजार, द्वितीय वडा नं १ ले नगद ३० हजार र तृतीय हुने वडा नं. ४ ले १५ हजार नगद हात पारेको छ। पुरुषतर्फ प्रथम हुने वडा नं. १ ले नगद ४५ हजार, द्वितीय हुने वडा नं. ३ ले ३० हजार र तृतीय वडा नं. २ ले १५ हजार प्राप्त गरेको छ।